यातायात कार्यालयको भवन सेटिङमा सारिएको प्रमाणित

यातायात कार्यालयको भवन सेटिङमा सारिएको प्रमाणित

इटहरीस्थित यातायात अनुमति पत्र ब्यबस्था कार्यालयको भवन सेटिङमा सारिएको प्रमाणित भएको छ । केही साताअघि दिप खबरले इटहरी ८ स्थित रोहितकुमार चौधरीको जग्गामा नयाँ संरचना बनाएर कार्यालय सार्न चलखेल भएको समाचार प्रकाशित भएको थियो । त्यसयता सेटिङमा कार्यालय सार्न लागिएको भन्दै यातायात ब्यवसायी तथा ड्राईभिङ संघले समेत विरोध गरेको थियो ।

कार्यालयले सुचना जारी गरे पश्चात ४ वटा घरको लागि आवेदन आएको थियो । सोमध्ये घरभाडादेखि प्राविधिक उपयुक्तता सबै हेरेर अहिलेको घर छानिएको हो कार्यालय निमित्त प्रमुख प्रेम प्रसाद सापकोटाले दाबी गरे । तर यो सबै काम सेटिङमा गरिएको ब्यवसायी, तथा स्थानीयले समेत भन्दै आएका थिए ।

सोही घरमा यातायात कार्यालय सार्ने गरी सूचना प्रकाशन गरिएको थियो । सो समयमा उक्त घर निर्माणाधिन थियो । सूचनामा दिइएको विवरण र उक्त निर्माणाधिन घरको विवरण मिलेपछि र स्थानीयले समेत यातायात कार्यालय यही सर्दैछ भन्ने जानकारी दिएपछि सेटिङ भएको खुलेको थियो ।

प्रकाशित सूचनामा तोकिएका जटिल शर्तहरु पूरा भएको घर कतै पाउन मुस्किल पर्छ । सूचनाअनुसार महेन्द्र र कोशी राजमार्गमा नपर्ने र चोकबाट दुई किलोमिटरको दुरीमा पर्ने, ८ कठ्ठा क्षेत्रफल जग्गामा घेराबारा लागेको, भुँइतलामै मात्र कम्तिमा ४१०० स्क्वायर फिट क्षेत्रफलमा १५ कोठे भवन भएको, प्यासेज ७ फिट चौडा हुनुपर्ने, सकेसम्म झ्यालबाटै सेवा दिन सकिने हुनुपर्ने, कम्तिमा ६ वटा ट्वाइलेट, बाथरुम भएको हुनुपर्ने शर्तहरु उल्लेख थियो ।

त्यती मात्र होइन, लिखित परीक्षा दिनका लागि ६० फिट लम्बाइ र १५ फिट चौडाइ भएको परीक्षा हल पनि हुनुपर्ने भनिएको थियो । यस्तै २० फुटको बाटो हुनुपर्ने र कार्यालयबाहेक थप दुई कठ्ठा जग्गा पार्किङको लागि उपलब्ध हुनुपर्ने उल्लेख थियो । तर यति धेरै शर्तसहितको बनिबनाउ घर पाउन अहिले पनि असम्भव छ ।

तर, त्यही अनुसारको घर उक्त सूचना प्रकाशित हुनुभन्दा ५ महिनाअघिदेखि इटहरी ८ स्थित रोहित चौधरीको जग्गामा बनिरहेको थियो । कार्यालयले सूचना प्रकाशनपछि नयाँ घर फेला नपर्दै एक महिनाभित्र कार्यालय घर सर्ने जानकारीसमेत त्यतीबेलाका घरबेटी दिनेश भट्टराईलाई दिइसकेको थियो ।

सेटिङ भएको हल्ला बाहिर फैलिएसगैं कार्यालयका हाकिम सापकोटाले आफ्नो गल्तीलाई ढाकछोप गर्न ६लेन सडक आयोजनासगँ सडक विस्तार गर्दा कार्यालयको भवन समेत काटिने भएकाले सार्न भन्दै पत्र पठाउन लगाएका थिए । त्यति मात्रै हैन उनले निमार्णाधिन यातायात भवन निमार्ण ठेकेदार कम्पनीसगँ निमार्णको काम तोकिएको समयमा गर्न नसकिने भन्दै बनावटि पत्र पठाउन लगाएका थिए ।

यातायात कार्यालयका प्रमुख सापकोटा भने आरोपको खण्डन गर्छन् । उनले पहिले राजमार्ग छेउको कार्यालय बस्न अनुपयुक्त भएको र जोखिम पनि बढेपछि र प्रदेश मन्त्रीले पटकपटक सार्नुपर्छ भनेपछि आफूहरुले पनि सूचना निकालेको बताउँछन् ।

यता यातयात कार्यालय प्रदेश प्रमुख भीम गौतम पनि सोही घर छनोटमा पर्नुलाई संयोग मात्र मान्छन् । तर यातायात सार्नको लागि बहालवाला प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, कार्यालयका प्रदेश प्रमुख भीम गौतम र कार्यालय प्रमुख सापकोटासमेतको संलग्नता रहेको बताइएको छ । यातायात व्यवसायी तथा ड्राइभिङ संघले पटकपटक प्रदेश मन्त्री गुरुङलाई कार्यालय सेटिङमा सार्न लागेको बन्दै ज्ञापनपत्र समेत बुझाएका थिए । तर गुरुङले लामो समय बित्दा पनि कुनै प्रतिक्रिया जनाएका थिएनन् । यसरी आखैं अगाडी देखिएको नितिगत आर्थिक अनियमितताका बारेमा नबोल्दा मन्त्री गुरुङमाथि समेत आसंका उत्पन्न भएको छ ।

यसअघि पनि मन्त्री गुरुङ राज्यमन्त्री हुँदा अहिलेकै प्रदेश प्रमुख गौतमको सिफारिसमा झापामा निजी निजी सेन्टरमा ट्रायल गर्ने गरी निर्णय भएको थियो । सरकारी संरचना हुँदा हुँदै विभिन्न बहाना झिकेर निजी सेन्टरलाई महँगो भाडा तिर्ने गरी जिम्मा दिने कार्यमा गुरुङ र गौतमको संलग्नता रहेको चर्चा चलेको थियो |