एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र –३ हर्दिया घर भएका ३० वर्षीय रोमन राजधामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जनामाथि एसिड प्रहार गरेर फरार राजधामीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको हो । घटनापछि उनी भागेर काठमाडौँ पुगेका बेला पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
२८ वर्षीया श्रीमती सरू भन्ने सरस्वती बस्नेतसँग विवाद भएको र विवादका क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए ।
त्यही क्रममा सरू ज्यान जोगाएर घरबाट भागेर छिमेकीकोमा पुगेकी थिइन् । राजधामीले पनि उनलाई लखेट्दै त्यहीं पुगे, छिमेकीले छुट्याउँन खोज्दा उनीहरुमाथि समेत एसिड प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट ४३ वर्षीय श्याम कुमारी धामीको टाउको तथा अनुहारको भागहरुमा चोट लागि गम्भीर घाइते भएकी छिन् । उनको उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि विराटनगर स्थित म्याक्स अस्पताल भर्ना गरिएको समेत प्रहरीले जनाएको छ । अन्य दुई छिमेकी वर्ष २१ को सुनम राजधामी र वर्ष १९ को सुजन राजधामी सामान्य घाइते रहेका छन् |
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP