राष्ट्रिय युवा संघद्धारा ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण

राष्ट्रिय युवा संघद्धारा ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण

राष्ट्रिय युवा संघ सुनसरीको आयोजनामा धरानको सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण भएको छ । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार उक्त स्थानमा करिब २ हजारको संख्यामा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको हो ।

संघका जिल्ला अध्यक्ष अरुण गुरुङका अनुसार राष्ट्रिय युवा संघ सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा जलाधार क्षेत्रको जग्गा अतिक्रमण र किनबेच भइरहदा एमाले नेतृत्वको सरकारको पालामा सरकारको नाममा ल्याउने निर्णय भएकोले जलाधार संरक्षणको लागि वृक्षारोपण कार्यक्रम गरिएको हो । साथै उनले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको पनि स्मृति दिवस परेकोले वृक्षारोपण कार्यक्रम गरिएको बताए ।

यो कार्यक्रमसँगै देशव्यापी वृहत वृक्षारोपण कार्यक्रमको पनि समापन गरिएको संघका जिल्ला अध्यक्ष अरुण गुरुङले जानकारी दिए । उनले सुनसरी जिल्ला भर १० हजार विरुवा रोपिएको समेत बताए ।

कार्यक्रममा बोल्दै एमाले नेता मुरारी सुवेदीले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस पारेर सुनसरी जिल्लाको शिर सर्दु जलाधारको संरक्षण र पुर्नताजगी गर्न वृहत वृक्षारोपण गरिएको बताए । उनले युवाहरु राजनीतिकरुपमा सचेत भएको, अग्रजहरुलाई सम्मान गर्ने, सरकारी सम्पत्ति संरक्षण गर्न जस्तोसुकै मुल्य चुकाउन तयार भएको र जलाधार क्षेत्र धरानको मात्र नभै जिल्लाकै शिर भएकोले जिल्लाको सिमावर्ती क्षेत्रबाटसमेत युवाहरु आएर वृक्षारोपण गरिएकोले महत्वपुर्ण कार्यक्रम भएको बताए ।

संघले यसअघि पनि देशव्यापी वृक्षारोपण अभियानअन्तर्गत इटहरी क्षेत्रका विभिन्न सार्वजनिक स्थल, धरानको वीपी प्रतिष्ठान, विद्युत प्राधिकरणको जग्गा र विपी स्मृति पार्कमा पनि वृक्षारोपण कार्यक्रम गरिसकेको थियो । संघको केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बुले देशभर ५ लाख विरुवा रोप्ने लक्ष्य पुरा भएको बताए । सट्टाभर्ना पाएर पनि अतिक्रमण भएको जलाधार क्षेत्रको जग्गा सरकारीकरण भएकोले संरक्षण गरी हरियाली बनाउनुपर्छ भनेर २ हजार विरुवा रोपिएको उनले बताए ।