पठनपाठनको अबको बाटो : चुनौती र अवसर

पठनपाठनको अबको बाटो : चुनौती र अवसर

विश्वमा फैलिरहेको कोरोना महामारीले शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउँदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारी सकिन्छ र पठनपाठन अगाडी बढाउने भन्दा पनि चुनौतीको बिचमै अवसर खोज्न आवश्यक छ ।
शिक्षा क्षेत्रका संवाहक मानिएका शिक्षकहरूलाई मर्यादाक्रममा नराखिनु ,कोरोना भ्याक्सिन उपलब्ध नगराउनुले पनि राज्यले शिक्षा क्षेत्रलाई हेर्ने नजरअन्दाज गर्न सकिन्छ । कयौँको सङ्ख्यामा शिक्षकहरूले मृत्युवरण गरी सक्दा पनि भ्याक्सिन उपलब्ध गराउनको सट्टा बजेट विनियोजनमा अन्य कर्मचारीको तुलनामा विभेद गरिनुले शिक्षक समुदाय नै निराशाजनक हुनु स्वाभाविकै हो ।

यसो भनेर सम्पूर्ण दोष सरकारलाई थुपार्ने मात्र हैन सकारात्मक कुराहरू हेर्दा सरकारको वैकल्पिक माध्यमबाट पठनपाठनलाई अगाडी बढाउने नीति समय सान्दर्भिक छ । निजी विद्यालयहरूले विभिन्न विकल्पहरू खोजी पठनपाठन कार्य जारी राख्दा आंशिक मात्रमा मात्र सामुदायिक विद्यालयहरू अग्रसर छन् । अरू सामुदायिक विद्यालय निष्क्रिय बस्नुले समाजमा आलोचनाको पात्र बनिरहेको अवस्था सोचनीय विषय रहेको छ ।
यस्तो अवस्थामा खोप खरिद र स्वास्थ्य सम्बन्धी सचेतनामा बजेटलाई केन्द्रित गरी शिक्षकहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिई दक्ष बनाउन आवश्यक छ । यसो भएमा बन्दाबन्दी नै भई रहे पनि केही मात्रामा भएको श्रोत साधन प्रयोग गरी सिकाइलाई निरन्तरता दिन सकिन्छ । अन्य सरकारी निकाय तथा सेवा प्रदायक सङ्घ संस्थाहरूले पनि आफ्नो भूमिका जिम्मेवारी बोधका साथ गर्न आवश्यक छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्नु , टेलिकमले नेटवर्किङ सेवामा नियमितता गर्नु, छपाई केन्द्रले समयमा पाठ्यपुस्तक छपाई गर्नु ,स्थानीय निकायले समयमा पाठ्यपुस्तकको रकम निकासा गर्नु , विद्यालयहरूले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउनु आवश्यक छ । सामाजिक सञ्जालहरूमा अनलाइन गेम, अश्लील भिडियो ,अनावश्यक विज्ञापन र फेक न्युजहरू पोष्ट नगरी सन्देशमूलक र ज्ञानवर्धक विषयवस्तु प्रसारण गरे यसबाट पठनपाठनलाई अवश्य टेवा पुग्नेछ ।

शिक्षक कर्मचारीले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने, आफूले प्राप्त गर्ने सेवा सुविधा मात्र नहेरी सेवामूलक कार्यहरू पनि गर्ने, सरकारको मुख मात्र ताक्नुको सट्टा सेकसम्मका संयन्त्र प्रयोग गर्ने र सम्भावनाको खोजी गरी सम्बन्धित निकायलाई रचनात्मक सुझाव र सहयोग गर्न सकिन्छ भने नेट,टिभी,रेडियो,फोन आदिमा क कसको पहुँच कस्तो छ भनी आफ्नो विद्यालयको सर्वेक्षण गरी समूह निमार्ण गरी नेटको पहुँच हुनेको समूह निर्माण गरी उनीहरूलाई जुम,टिम्स आदिबाट शिक्षण गर्न सकिन्छ भने टिभी र रेडियो हुनेलाई पठनपाठन हुने समय तालिका उपलब्ध गराएर पढ्न लगाउन सकिन्छ भने मोबाइल मात्र हुनेलाई मोबाइलबाट पठनपाठन गर्न सकिन्छ । मोबाइल पनि नहुनेहरूलाई नहुनको कारण सोधी किन्न प्रोत्साहन गर्ने र किन्न पनि नसक्नेलाई तथ्याङ्कका आधारमा कुनै दाता खोजी गरेर अनि कसैका एक्स्ट्रा सेट भएमा चलाउन दिन अनुरोध गरिदिन पनि सकिन्छ ।

विद्यार्थीहरूले पनि समयमयमा विद्यालयका शिक्षकहरूसँग फोन सम्पर्क गरी आफ्ना समस्याहरू राख्ने , भई रहेका नवीनतम गतिविधिका बारेमा जानकारीका लागि उत्सुक रहन सकिन्छ भने अभिभावकहरूले आफ्ना छोराछोरीका गतिविधिका बारेमा शिक्षकहरूसँग जानकारी गराउन सकिन्छ र शिक्षकले दिएका कार्यहरू गर्न प्रोत्साहन गर्नुपर्छ । हाम्रो देश भौगोलिक विकटता भएको त्यसमा पनि मौसम प्रतिकुलताको अवस्था छ । आधुनिक प्रविधिको विकास र प्रयोगमा कठिनता छ तर त्यसको बाबजुद पनि लाभ लिन कोसिस गर्नुपर्छ ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षाका शिक्षक विद्यार्थीका लागि सिकाई सम्पर्क कायम गर्न कक्षा ४ भन्दा माथिका विद्यार्थीहरूलाई निःशुल्क पाठशाला सिम Closed User Group (CUG) मा आबद्घ गर्ने योजना ल्याएको छ । यसको सहजीकरण गर्ने कार्य प्रविधिमैत्री शिक्षक समाज ,नेपाललाई दिएको छ । यस प्रविधिमैत्री शिक्षक समाज ,नेपालले विगत समय देखि शिक्षकहरूलाई निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिरहेको र शिक्षा क्षेत्रमा प्रविधिको प्रवेश गराउने उल्लेखनीय कार्य गरिरहेको हुनाले यस संस्थाको उच्चतम मूल्याङ्कन गर्न र हौसला प्रदान गर्न आवश्यक छ । यसरी प्रविधि मार्फत सबै अघि बढेमा कोठा मै बसेर पनि सिकाई हुने हुनाले पठनपाठनलाई आशिँक रूपमा भए पनि अगाडी बढाई चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्न सकिन्छ ।

लेखक योगराज लुइँटेल जनकल्याण आधारभूत विद्यालय, भोजपुर ९ काफ्लेमा शिक्षण पेसामा आबद्ध छन् ।