यति बेला नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनले नेता तथा कार्यकर्तामा सरगर्मी बढेको छ । स्थानीय, प्रदेश हुदैं केन्द्र तिनै तहको महाधिवेशनमा आफ्नो पक्षमा कार्यकर्ता उभ्याउन तल देखि माथि सम्मका नेता लागेका छन् । पार्टीको कार्यपालिका अनुसार नगरपालिका ÷ उपमहानगरपालिकाको अधिवेशन आगामी साउन १६ गते हुदैंछ । इटहरी उपमहानगर समितिको नेतृत्व कसले लिने भन्ने विषयमा निकै अड्कलबाजी गरिरहेका छन् । इटहरीलाई नेपाली काङ्ग्रेस पार्टीले समेत महत्त्वका साथ हेर्ने गरेको छ ।
दुई कार्यकाल बिताई सकेका नगर सभापति हेमकर्ण पौडेल तेस्रो कार्यकाल पनि आफैँ लिने अडानमा छन्, यस्तै निर्वाचित नगर सचिव प्रकाश बस्नेतले समेत सभापतिको उमेद्धारी दिर्ईसकेका छन् भने नेपाल विद्यार्थी सङ्घ पूर्व केन्द्रीय उपाध्यक्ष तथा सुनसरी जिल्ला कोभिड अनुगमन समिति संयोजक विकास केसीले पनि नगर सभापतिमा उमेद्धारी दिने तयारी गरेका छन् । यसै सन्दर्भमा रहेर केसी सँग आगामी महाधिवेशनको तयारी कस्तो भइरहेको छ । के के छन् एजेण्डा लगायतका विषयमा दिपखबरका प्रतिनिधि प्रकाश तिम्सिनाले कुराकानी गरेका छन् ।
समग्रमा ३ वर्षको कार्यकाल नेपाली काङ्ग्रेस इटहरी नगर समितिले कस्तो भूमिका खेल्यो ?
इटहरी उपमहानगरको प्रमुख प्रतिपक्षी भनेको नेपाली काङ्ग्रेस उपमहानगर समिति हो । समितिले उपमहानगरले गरेका भ्रष्टाचार, अनियमितताको कुरालाई खबरदारी गर्न सकेन । नगर समितिले प्रत्येक वर्ष नगर सभा गर्नु पर्ने प्रावधान छ । तर आज सम्म एक पटक पनि नगरसभा भएको छैन । आज सम्म के के काम भयो । के कति हिसाबकिताब छ, एक दुई जना बाहेक कसैलाई पनि थाहा छैन । नेतृत्वले पार्टी सङ्गठन विस्तारमा भन्दा व्यक्ति हाबी हुनु पर्यो भन्ने धारणा छ ।
यसको अर्थ पार्टीमा व्यक्ति हाबी भयो भन्न खोज्नु भएको हो ?
हो । उहाँको कमजोरी नै यही हो । दुईचार जना उहाँका नजिकका व्यक्ति खुसी हुनुहुन्छ होला तर सिङ्गो नेपाली काङ्ग्रेसका क्रियाशील सदस्यहरू अहिलेको नेतृत्वसँग निराश छ । न कुनै कार्यक्रम भयो न कुनै योजनाबद्ध रूपमा सशक्त हुनु सक्यो । अन्य पार्टी भन्दा यो पार्टी फरक, एक्टिभ भए पो नयाँ युवा नेपाली काङ्ग्रेस तिर आउँछन् त । खोइ युवालाई पार्टीमा ठाउँ ? हरेक निर्णय व्यक्तिगत गर्न खोजेपछि आज सारा सदस्य असन्तुष्ट छन् ।
यति धेरै समस्या छन् पार्टीमा तपाईँहरू आलोचना गर्नु हुन्छ, तर नेतृत्व तहलाई किन सल्लाह दिन सक्नुभएन ?
सल्लाह दिन त सुन्नु पर्यो नि । सल्लाह कति दिने । आज सल्लाह दियो । भोलि सल्लाह दियो तर कुनै परिवर्तन आउँदैन । उहाँले कति सम्म गर्न थाल्नु भयो भने हामीले सुझाव दिन्छौ, यसले पार्टीलाई डुबाउन आँट्यो भन्दै आफैँ सुटुक सुटुक निर्णय गर्न थाल्नु भयो । हरेक निर्णय व्यक्तिवादी छन् । क्रियाशील सदस्यका बारेमा यति धेरै विवाद भयो तर उहाँले समितिको बैठक राखेर छलफल समेत गर्नु सक्नुभएन ।
अहिलेको नेतृत्वको विषयमा उहाँकै नजिकका पदाधिकारीले पनि आलोचना गर्न थाल्नुभएको छ । ३ वर्षको कार्यकालमा उहाँहरू किन मौन हुनु भयो ?
नेपाली काङ्ग्रेसको विधि विधानले के भन्छ भने उपसभापतिहरू मनोनीतमा आउने हो । एक जना सचिव र सदस्यहरू निर्वाचित भएर आउनु पर्ने हो । दुई जना उपसभापति हुनु पर्नेमा सभापतिले थप एक जनालाई मनोनीत गरेर ३ जना पुर्याउनु भाको छ । सचिव दुई जना मध्ये एक जना उहाँले नै मनोनीत गर्नु भएको हो । यस कारणले मनोनीत गरेका पदाधिकारीहरूले बोल्ने आँट गर्नु भएन ।
क्रियाशील सदस्य बनाउने विषयमा नेतृत्व तहले आफ्ना वा नजिकका व्यक्तिलाई मात्रै दिएको तर जो सङ्गठनमा रातदिन लागेकालाई नदिएको भन्ने स्थानीय तह, प्रदेश तथा केन्द्र सम्म विवादित बनिरहेको छ । इटहरीको अवस्था कस्तो छ । के बुझ्नु भएको छ ?
इटहरीमा अन्त भन्दा ठुलो विवादित काम भएको छ । इटहरीका २० वडा मध्ये अहिले २ र ३ क्षेत्रमा आधा आधा बाँडिएको छ । २ नम्बरमा बाँडिएको विषयमा त्यति धेरै समस्या आएन तर ३ नम्बरमा व्यापक धाँदली भयो । पार्टी हारोस्, जितोस् मतलब भएन तर मैँले जसरी नि जित्नु पर्छ भन्ने धारणा नेतृत्वले लियो ।
क्रियाशीलता सदस्य बनाउने विषयमा पैसा उठाइयो । तर लेबि यसरी उठाइयो प्रत्येक वडामा फरक दरले कुनैमा १८ सय, १३ सय कतै हजार । आर्थिक पारदर्शिता छैन । अहिले सम्म त्यो पैसा कहाँ पुगो । कसले उठायो केही थाहा छैन । यसले के देखिन्छ भने गरिब जनताले काङ्ग्रेसको सदस्य नै बन्न नपाउने त ? यस्तो मनोमानी रूपले सङ्गठनलाई बिगार्यो ।
इटहरीको वडा नम्बर ६ र ९ का १ सय ८१ जनाले फोटो र लेबि दिए । तर नगरले के गर्यो, वडाबाट आएको ३७ वटा विवरणलाई हटाएर आफ्ना मान्छे राखेर पठाएको छ । यी मात्रै हैन वडा नम्बर १०, ११,१२ लगायत सम्पूर्ण वडामा ५ सय ५० मत आफ्नो बनाएको छ । यो कुरा हामीले थाहा पाएर केन्द्र सम्म पुगेर मुद्दा सच्चिएर आउँदै छ । यसको सम्पूर्ण दोष भनेको नगर समिति हो । यस्तो मनलाग्दी नेतृत्व कति दिन चल्छ ? यसरी छलकपट गरेको एक कारण हो । ब्यत्ति हाबी हुनु । जसरी पनि म नेतृत्वमा आउनु पर्छ भन्ने सोचले इटहरीमा काङ्ग्रेस दिनप्रतिदिन घट्दो दरमा छ । यो सबै हेर्दा म के बुझ्छु भने विकास केसी उठ्दा साथीहरू जो नेतृत्वमा आउँछु भनेर बसेका छन् । उनीहरू डराएका छन् । अब हामी चुनाव जित्दैनौँ । चुनाव जित्न त आधार चाहिन्छ । उहाँहरू सँग कुनै आधार छैन ।
इटहरीमा यति धेरै विवाद छ । अब पार्टीको १४ औँ महाधिवेशनमा इटहरी नगर सभापतिमा उमेद्धारी दिने तयारी थाल्नु भएको छ । के के छन्, एजेन्डा ?
मेरो पहिलो उद्देश्य म नगर सभापति भएपछि आगामी स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसका उमेद्धारीलाई जिताउँछु । बोलेका बचन एक कार्यकालमा पुरा गर्छु तर दोश्रो, तेस्रो पटक पद ओगटेर बस्दिन नयाँ अनुहारलाई नेतृत्वमा आउने अवसर दिन्छु । मेरो नेतृत्व समितिले विकास गर्ने हैन सङ्गठनलाई मजबुत बनाउने काम गर्छ । म सभापति भएपछि यो लेबि उठाउने समस्या सबै हट्छ । व्यक्तिको स्तर हेरेर लिने । प्रत्येक वर्ष लिने । तर सामान्य जनताले सहज रूपमा क्रियाशील सदस्यता पाओस् । इटहरीका २ र ३ क्षेत्रमा सशक्त कांगे्रस बनाउने । इटहरीमा पार्टी भित्र जुन गुटउपगुट छ, यसलाई अन्त्य गर्ने । कसरी अन्त्य गर्ने भन्दा केन्द्रमा आफुँ खुसी शेर बहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला वा जोकोहीलाई भोट हाल्न पायो । तर माथिको सिको गर्दै स्थानीय स्तरका नेतालाई यो गुटमा आइज त्यो गुटमा नजा भन्ने जुन परम्परा छ । यसले गर्दा पार्टीलाई ठुलो क्षति भएको छ ।
त्यसैले स्थानीय कार्यकर्ताहरुलाई सही दिशा ति हिँड्न प्रेरित गर्छु । सबै कार्यकर्तालाई एकै आँखाले हेर्ने । जो साथी अहोरात्र खट्छ उसलाई मौका दिने यसले गर्दा इटहरीमा गुट उपगुटको अन्त्य हुन्छ ।
अर्को तिर पार्टीमा ठुलो समस्या के छ भने आफूले मन परेको व्यक्तिले चुनावको टिकट पायो भने सक्दो सहयोग गर्ने तर जो आफुँले चाहेको भन्दा फरक व्यक्ति चुनावमा उठ्यो भने अराजक हुने । वितण्डा मच्चाउने, अन्तर्घात गर्ने चलन छ । त्यस्ता व्यक्तिलाई पार्टीबाट सदाका लागि निकाल्दिने यसो गर्यो भने आगामी चुनावमा त्यस्तो गलत कार्य गर्ने हिम्मत आउँदैन ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
सबै कुरा आई हाल्यो । बोल्ने भन्दा पनि काम गरेर देखाउने मेरो बानी छ । आगामी महाधिवेशनमा आम पार्टीमा आस्थावान् ब्यक्तित्वहरुलाई सभापतिका लागि सहयोग गर्न अपिल गर्छु ।
संशोधित कार्य तालिका अनुसार गाउँ र नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसै गरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP