चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि राजनीतिक भागबन्डा भन्दा योग्यता र क्षमताको आधारमा हुनु पर्ने बताएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई साथ दिन धरान आएका डाक्टर केसीले राजनीतिक भागबन्डाका कारण सुधारोन्मुख स्वास्थ्य क्षेत्र झन् ध्वस्त भएको बताए । उनले निवर्तमान केपी ओली सरकारले प्रत्येक प्रदेशमा एक सुविधा सम्पन्न मेडिकल अस्पताल खोल्ने प्रयास गरे पनि तत्कालीन प्रधानमन्त्री ओलीले नै प्रदेश नम्बर २ र ४ को फाइल लुकाएर राखेको आरोप लगाए ।
डाक्टर केसीले अबको नयाँ सरकारले पनि सोही गल्ती दोहोर्याए नयाँ सरकारको आजबाट दिन गन्ती सुरु भएको समेत चेतावनी दिए । उनले हिजोका दिनमा जस्तो नेताको हावा गफ जनताले सुन्न छाडेको बताउँदै अब नेताले जनताको कुरा सुन्ने र सोही अनुसार जनतालाई नै निर्णय गर्न अधिकार दिनुपर्ने माग गरे ।
डा।केसीले सरकारी तथा सार्वजनिक संस्थाहरूलाई धराशायी बनाउनकै लागि अयोग्य र भ्रष्ट कार्यकर्ताहरूलाई देशका प्रमुख प्रतिष्ठानमा पदाधिकारीमा नियुक्त गर्दा आज यो समस्या आएको बताए । ‘विश्वभरि शिक्षा र स्वास्थ्य सेवामूलक क्षेत्रकोरुपमा छ तर नेपालमा राजनीतिकर्मी र कालोबजारी मिलेर नाफामूलक व्यापार बनाएका छन्,’उनले भने ।
भ्रष्टहरूले सार्वजनिक संस्थानलाई धराशायी बनाएपछि सर्वसाधारण जनताहरू बाध्य भएर नेता र माफियाकै मिलेमतोमा खुलेको निजी शैक्षिक र स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य हुने गरेको समेत उनले बताए । राजनीतिप्रति कडा कटाक्ष गरेका डाक्टर केसीले नेपालका नेताहरूमा नैतिकता नभएको र गैर जिम्मेवार भएको आरोप पनि लगाए । उनले बिपी प्रतिष्ठानका उपकुलपति, रजिष्टार सहित चारै जना पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने पनि माग गरे ।
डाक्टर केसीले विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरूमा नियुक्त हुने पदाधिकारीहरूको मापदण्डबारे बनेको समितिले प्रतिवेदन बुझाइसकेको तर ऐनको रूप दिन नेताहरूले नचाहेर कानुन मन्त्रालयमा पेन्डिङ राखिएको बताए । आफ्ना भ्रष्ट, अयोग्य कार्यकर्ताहरू भर्ती गर्न नपाइने भएपछि ऐन नबनेको भन्दै डा।केसीले जसरी पनि ऐन बन्ने जिकिर गरे ।
प्रतिष्ठान सुधारको माग राख्दै कर्मचारी, डाक्टर, नर्स लगायत एक हजार बढी स्वास्थ्यकर्मी ३० दिन देखि आन्दोलनमा छन् । उनीहरूले अबको ४८ घण्टा भित्रमा माग सम्बोधन नगरे कोभिड अस्पताल र इमरजेन्सी सेवा बाहेक सबै सेवा ठप्प राख्ने समेत बताएका छन् । उनीहरूले आजै नवनियुक्त प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP