सर्वाेच्च अदालतको निर्णय विरुद्ध इटहरीमा राष्ट्रिय युवा संघको मौन विरोध

सर्वाेच्च अदालतको निर्णय विरुद्ध इटहरीमा राष्ट्रिय युवा संघको मौन विरोध

सर्वोच्च अदालतले संसद विघटन वदर गरेसगैं सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठनहरुले देशव्यापीरुपमा विरोध प्रर्दशन गरेको छ । संवैधानिक इजलाशले दोस्रो पटक संसद पुनस्थापना गरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको भन्दै राष्ट्रिय युवा संघले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालले सुनसरीको इटहरीमा पनि सर्वोच्चको उक्त फैसलाको विरोधमा सोमबार साँझ विरोध गरेको छ । गैह्र न्यायीक फैसला मुर्दावाद, परमादेशबाट प्रधानमन्त्री घोषणा हुनु अलोकतान्त्रिक र असंवैधानिक छ, कालो फैसला मुर्दावाद, जस्ता लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ सुनसरी जिल्ला अध्यक्ष अरुण गुरुङले अदालतलाई गल्ती सच्याउन आग्रह गर्दै आफुहरु जनादेश मान्न तयार रहेको तर परमादेश नमान्ने बताए । ‘हामी अदालतको कदमविरुद्ध आन्दोलनमा उत्रिएको हो । जनादेश मान्न तयार छौं, तर परमादेश मान्दैनौं,’उनले भने,‘हामी न्यायलयको पक्षमा छौं, तर न्यायलयले सेटिंग गरेर बहुदलीय देशलाई निर्दलिय बनाउन खोज्छ भने न्यायलयलाई पनि ढुंगा हान्छौं ।’ त्यस्तै उनले भोलिबाट चरणबद्ध रुपमा जिल्लाभर आन्दोलन गर्ने समेत बताएका छन् ।

विरोध सभामा राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य जितेन्द्र थापा, केन्द्रिय सदस्य राजन बानियाँ, मनोज राय लगायतको उपस्थित रहेको थियो ।
यस्तै राष्ट्रिय युवा संघ धरान नगर कमिटिले पनि सर्वाेच्च अदालतको निर्णयप्रति आपत्ति जनाउँदै भानुचोकमा विरोध प्रर्दशन गरेको छ ।