अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिकाको उपाधि

दिप खबर
असार २७, २०७८

४७ औँ संस्करणको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले हात पारेको छ । माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-०को कठिन जित निकाल्दै अर्जेन्टिनाले उपाधि जितेको हो  । खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई डि मारियाले डिबक्सभित्र नियन्त्रणमा लिँदै उत्कृष्ट ढङ्गले पोस्टको दिशा दिएका थिए । सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात पारेयता अर्जेन्टिनाले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । त्यसयता उसले ४ कोपा अमेरिका र १ फिफा विश्वकप फाइनल खेले पनि उपाधि हात पार्न भने सकेको थिएन ।

ऊ सन् २००४ र २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिल, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा चिली र सन् २०१४ को फिफा विश्वकपमा जर्मनीसँग पराजित भएको थियो ।  अर्जेटिनाका कप्तान लियोनल मेस्सीका लागि यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

उपाधि जितसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका जित्ने उरुग्वेसँगको कीर्तिमान पनि बराबरी गरेको छ । दुवै टोलीले समान १५-१५ कोपा अमेरिका उपाधि हात पारेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP