दलीय स्वार्थका कारण इटहरी होटल व्यवसायी संघ विभाजित भयो: अध्यक्ष पराजुली

दिप खबर
असार २४, २०७८

वि.सं २०६५ सालमा स्थापना भएको होटल व्यवसायी सङ्घ इटहरीको नयाँ कार्यसमिति चयन तथा विभिन्न विषयले विवादमा छ । एकातर्फ हाल रहेका समितिका सदस्यलाई नै पुनः कार्यसमितिमा राख्नुपर्ने अडान छ भने असन्तुष्ट पक्षले भने अर्कै सङ्घ दर्ता गराएर नयाँ समिति नै खडा गरिसकेको छ । हाल रहेको कार्यसमितिको समयावधि ३ महिना अघि नै सकिएको छ । कोभिडका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सभा समयमा नै सकेको छैन । असार मसान्त भित्रै साधारण सभा सक्नुपर्ने विधानमा उल्लेख रहेको छ । यसै अनुरूप भोलि अर्थात् असार २५ गते ११ औँ इटहरी होटल व्यवसायीको साधारण सभा हुदैंछ । सङ्घमा विवाद किन आयो ? असन्तुष्ट पक्षलाई किन समेट्न सक्नु भएन ? लगायतका विषयमा रहेर होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीसँग दिपखबरका प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

यति लामो समय सगैं सहकार्य गर्नु भएको व्यवसायीको नेतृत्वमा किन विवाद आयो ?

अब यस्तो छ । उमेश जी अहिले महासचिव हो । धेरै वर्ष काम गर्नु भयो तर कुनै पनि काम व्यवसायीको गर्नु भएन । पद ओगटेर बस्नुभयो । व्यवसायीले अझै पनि उहाँलाई विश्वास गर्दैनन् । व्यवसायीको मन जित्न सक्नु भएन । यो व्यवसाय किराना पसल हैन । फुटपाथ व्यवसाय हैन । होटल भनेको एकदम रिस्क हो । यसमा उहाँ खट्नुभएन । हाम्रो व्यवसाय भनेको अहिले म तपाई सँग बोल्दै छु अहिले पुलिसले व्यवसायीलाई पक्राउ गर्छ । जुन अवस्था,, जुन समयमा पनि पुलिससँग कुरा गर्न पुग्नुपर्छ । उहाँ महासचिव भएर बस्नु भयो तर कुनै काम गर्न सक्नुभएन यसै कारणले बिचमा विवाद बढ्दै गयो ।

महासचिव मात्रै हैन अन्य व्यक्ति पनि निस्किनुभयो, उहाँहरूको माग खास के थियो ?

उहाँहरूको माग ठ्याक्कै थाहा छैन । उहाँलाई मैँले फोन गरेर भेटेर कुरा गरौँ भनेको तर उहाँ आउनु भएन । आफ्नो विचार एउटा छ तर कसैको उक्साहटमा लागेर अर्कैको विचार बोल्नुहुन्छ । उहाँहरूको अर्कै मनस्थिति बनाई सक्नुभएको रहेछ ।

यसले गर्दा व्यवसायी नै दुई धारमा पर्ने देखियो, यस्तो हुनुमा के राजनीति हाबी भएको हो की, कसरी बुझ्ने ?

पार्टीको पनि साथ छ उहाँलाई । सबै त भन्दिन तर केही व्यक्तिको आडमा यस्तो भएको हो । दलीय स्वार्थमा परेर आज फुटको अबस्था आयो । फरक पार्टी भन्दैमा सबै नराम्रो हुँदैन । तर केही लोभिपापी व्यक्तिको हाबी छ । विसं २०५२ साल देखि खुलेको संस्था अहिले सम्म के हेरेर बस्नुभयो ? अब उहाँहरूले त्यहाँ गर के चमत्कार गर्नु हुन्छ ? ६५ सालमा खोलेको संस्था यति छिटो स्थापित भयो तर ५२ सालमा खोलेको संस्था आज सम्म कहाँ थियो ? आज सम्म कुन व्यवसायीलाई यसले के सहयोग गरेको छ रु यस्तो बेला फुटाउनु गलत थियो । यसै पनि यो सानो संस्था टुक्राएर के फाइदा ?

उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?

कुनै विषयमा मनमुटाब होला । त्यसलाई छलफल गरेर समाधान गर्नु पर्थ्यो । तर हतारको निर्णय लिनुभयो । अझै पनि उहाँहरूलाई आउनुस् सगैं सहयात्रा गरौँ भन्छु । हैन आउँदिन भन्नु हुन्छ भने व्यवसायीको हकहितको लागि लाग्नुस् शुभकामना दिन्छु ।

अब साधारण सभाको कुरा गरौँ, भोलि अर्थात् २५ गते ११ औँ साधारण सभा हुदैंछ । तपाई त हाल अध्यक्ष पनि हो । के फेरी पद दोहोर्‍याउने तयारीमा हुनुहुन्छ ?

मेरो कार्यकाल ३ वर्षको हो तर विविध कारणले १५ महिना मात्रै काम गर्न पाए । विगतमा व्यवसायी माझ बोलेका बचन पुरा गर्नु छ । त्यसै पनि तयारी गर्नु पर्छ र गरेको पनि छु । यसका लागि टिम भित्रका साथीले सहयोग गर्ने भन्नु भएको छ ।

तपाईँको कार्यकाल भित्रमा गरेका मुख्य मुख्य विषय केके हुन् ?

केही वर्ष अघि सम्म इटहरीका होटलमा केटाकेटी आउने मन मिले बस्ने नमिले बलात्कार केसमा केटा र होटेलवालालाई प्रहरी बोलाएर फसाउने प्रचलन थियो । यसले गर्दा ३ वर्ष अघि सम्म कुनै व्यापारी प्रहरी देख्यो भने डराउनु पर्ने अवस्था थियो । आज त्यो अवस्था छैन । हामीले होटलमा आउने ग्राहकलाई आफ्नो नाम, फोन नम्बर लेखाउने, आइडी कार्ड, सवारीसाधन नम्बर समेत राख्ने गरियो यसले गर्दा आज प्रहरीसँग डराउनु पर्ने अवस्था छैन । एकै टेबलमा बसेर मज्जाले छलफल गर्ने वातावरण सिर्जना भएको छ । कोरोना कहरले थलिएका होटलमा काम गर्ने ३ सय बढी कर्मचारीलाई राहत बाड्यो । उपमहानगरपालिकाको डाटा हेर्ने हो भने एक हजार बढी व्यवसायी हुनुहुन्छ । ३ वर्ष अघि ६०÷७० जना सङ्घमा आबद्ध हुनुहुन्थ्यो । तर अहिले यो संङ्या बढेर ३ सय हाराहारी पुगेको छ । अब अझ सङ्गठित हुने बढ्दो छ ।

अबको योजना के रहेको छ ?

इटहरी पर्यटन क्षेत्रको विकसित हुँदै गरेको शहर हो । यहाँका होटल व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पर्छ । पूर्व आउने पर्यटकले एक, दुई दिन इटहरीमा बस्न सक्ने पर्यटन प्रवर्द्धन गर्नु छ । होटल व्यवसाय बैङ्कको लोन विना सम्भव छैन । ५ लाख भन्दा कम पुँजी देखाए लोन लिन पाइँदैन । पुँजी बढी देखाए सरकारलाई कर धेरै तिर्नु पर्छ । यसले गर्दा ठुला व्यवसायलाई त समस्या नपर्ला तर सामान्य व्यवसायीलाई समस्या परेको छ । आर्थिक भार परेको छ । यसलाई रोक्न वा करको दायरा कम गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराउनु छ । लगायत हरेक व्यवसायीका समस्यामा त साथ दिएकै छु अब पनि दिन्छु ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP