सार्वजनिक यातायात व्यवसायीले भने: कोरोना विरुद्धको खोप नपाए सम्म सेवा दिन सक्दैनौँ

सार्वजनिक यातायात व्यवसायीले भने: कोरोना विरुद्धको खोप नपाए सम्म सेवा दिन सक्दैनौँ

सार्वजनिक यातायात व्यवसायीले तत्काल कोरोना सङ्क्रमण विरुद्धको खोप लगाउन पाउनु पर्ने माग गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ प्रदेश १ ले आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यातायात ब्याबसायीको मागलाई सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताएको हो ।
लामो समय देखि कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेका सार्वजनिक यातायात ब्याबसायी तथा मजदुरले सरकारबाट पाउनुपर्ने कुनै सेवा सुविधा नपाएको गुनासो गरे । करोडौँ ऋण लिएर यातायात सञ्चालन गरेका ब्याबसायी तथा मजदुरलाई राज्यले कुनै वास्ता नगरेको अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय उपमहासचिव भानु मैनालीले बताए । उनले मजदुर रोगले भन्दा भोकले मर्ने आइसकेको बताए । मजदुरहरूले संयुक्त रूपमा आवाज उठाउँदा समेत सरकार लाचार भएर बसेको उनको आरोप छ । मैनालीले भने ‘मजदुरलाई कि सरकारले राहतको व्यवस्था गर्दिनु पर्यो कि रोजगारीको प्रबन्ध मिलाइदिनु पर्यो । ’
भोलिका दिनमा सार्वजनिक यातायात खुल्लान् तर हामी यात्रु सँग टचमा रहनुपर्ने हुन्छ । खोइ हाम्रो स्वास्थ्य सुरक्षा यस कारण सरकारले यातायात खोल्नुअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलाई प्राथमिकतामा खोप लगाए जस्तै मजदुरलाई पनि खोपको ब्याबस्था गरिदिनु पर्ने मैनालीको भनाई छ ।
त्यस्तै नेपाल ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समिति उपमहासचिव ज्योति कोइरालाले लामो समयदेखि पर्यटन, होटल, यातायात मारमा छन् । अन्य क्षेत्र जस्तै यी क्षेत्रलाई पनि सरकारले संवेदनशील रूपमा लिनुपर्ने हो तर बेवास्ता गरेको बताए । आर्थिक सङ्कटमा रहेका मजदुरलाई विशेष खालको प्याकेजमा सुविधा दिनुपर्नेमा सरकारले लाचारपन देखाएको उनले टिप्पणी गरे ।
न राहत छ । न यातायात खोल्न दिन्छ । अनि हामी श्रमिक मर्ने रु, हाम्रो पनि परिवार छ । खोइ सरकारले के गर्यो रु कोइराला प्रश्न गर्छन् । उनले सरकारले अब खोपको व्यवस्था नगरे आफूहरू काम गर्न नसक्ने उनले बताए । कोइरालाले भने ‘हरेक नागरिकलाई खोपको ब्याबस्था हुनु पर्छ, महिनामा तीन तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दा सवारीसाधनको पनि भाडा बढाउनु पर्छ । यदि यी जायज मागलाई सम्बोधन गर्न सकेन भने सडक आन्दोलनमा उत्रिन्छौँ ।’
कार्यक्रममा बोल्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ प्रदेश १ का महासचिव रमेश खत्रीले यातायात ब्याबसाय चलायमान नभई अन्य ब्याबसाय नचल्ने बताए । सबै भन्दा मारमा परेको यातायात व्यवसायलाई सरकारले विशेष छुटको व्यवस्था नगरे सम्म चलाउन नसकिने उनले बताए ।
लामो समय देखि सडकको साइडमा थन्किएर बसेका यातायात चलाउन कम्तीमा पनि एक बसलाई पचास हजार भन्दा कमले मर्मत गर्न नसकिने खत्रीको भनाई छ । ‘सरकारले कुरै सुन्दैन । बैङ्कले किस्ता हाल्न पटक पटक फोन गरिरहेको छ । अब हामी व्यवसायी के गर्ने रु दश अरब भन्दा बढी ऋण लिएर निजी कम्पनी सञ्चालन गरेका बस थन्किएका छन् ।’ उनले बैङ्कको ब्याज मिनाहा हुनुपर्ने, कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था हुनु पर्ने, सरकारले उठाउँदै आएको सम्पूर्ण कर छुट हुनु पर्ने माग गरे । सार्वजनिक यातायात खुलाउनु अघि सरकारले हाम्रा माग सम्बोधन नगरे कुनै पनि हालतमा बस सञ्चालन गर्न नसकिने खत्रीको भनाई छ ।
त्यस्तै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ प्रदेश १ का उपाध्यक्ष टङ्क आचार्य पनि सरकारले कुनै गुनासो नसुन्दा व्यवसाय नै धरापमा परेको बताउँछन् । राज्यलाई पटक पटक ध्यानाकर्षण गरायौँ । सरकारलाई आफ्ना समस्या सुनाउन्जेल सुन्ने अर्को कानले उडाउने गरेको आचार्यको गुनासो छ । व्यापार ब्याबसाय नै बन्द भएपछि गरिखाने मजदुरको बिचल्ली भएको छ । भोलिका दिनमा यातायात खुल्लान् तर मजदुरलाई त झन् जोखिम हुन्छ । यसै कारण फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पत्रकार जस्तै मजदुरलाई पनि खोपको व्यवस्था गर्नु पर्ने आचार्यको माग छ । उनले अर्को प्रसङ्गमा सरकारले तत्काल जोरबिजोर गरी बस सञ्चालन गर्ने तयारी गरिरहेको सन्दर्भमा यसको कुनै औचित्य नहुने बताए । जोरबिजोर प्रणाली लागू गर्दा यात्रुको चाप अझ बढ्ने र यसले थप सङ्क्रमण बढ्ने भएकाले सबै बस सञ्चालन गर्न समेत सरकारलाई उनले आग्रह गरे ।
प्रदेश १ मा ४० हजारका हाराहारीमा सार्वजनिक यातायात छन्, भने करिब १ लाख बढी मजदुर उक्त सेवामा आबद्ध छन् ।