बराहक्षेत्रले कोरोना सङ्कटमा देखाएको तत्परता

बराहक्षेत्रले कोरोना सङ्कटमा देखाएको तत्परता

वैशाख लागेसगैं कोरोनाको दोस्रो भेरिअन्ट देखियो । अन्य सबै क्षेत्र बन्द हुँदा पनि सञ्चार क्षेत्र अझ सशक्त हुनु पर्ने । यसै पनि स्थानीय स्तरमा सक्रिय रूपमा समाचार लेख्दै आएका सुनसरीको बराहक्षेत्रका सञ्चारकर्मी प्रदीप चौधरीलाई पनि सङ्क्रमणले निकै दिन समस्या बनायो ।

गत जेठ २ गते सामान्य टाउको दुख्ने लक्षणमा उनमा देखियो । ५ गतेबाट अझ शरीर दुख्ने गर्र्यो । पक्कै कोरोना नै हो, भनेर घरको एकान्त बासमा बसे । उनले ७ गते पिसिआर परीक्षण गरे । नभन्दै १० गते रिपोर्ट पोजेटिभ आयो ।
अरुबेला अरूलाई केही हुँदैन सजक रहनु भन्दै आएका सञ्चारकर्मी चौधरी, आफूमा सङ्क्रमण देखिएपछि होम आइसोलेसन बस्ने कि घर बस्ने भन्ने बारे दोधारमा परे । स्वास्थ्यमा त्यति धेरै समस्या नभएकाले होम आईसोलेन बस्ने निर्णय गरे । सङ्क्रमित भएको थाहा पाउपछि छिमेकी आफन्तले कसैले पनि वास्ता नगरेको चौधरी बताउँछन् । ‘मलाई समस्या पर्दा छरछिमकीले वास्ता त गरेनन्, मेरो घरको सदस्यलाई पनि यता नआइज कोरोना सर्छ भन्दै जाली गर्थे’ चौधरीले बताए ।

होम आइसोलेसनमा बसेको ४÷५ दिनपछि बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मीको टोली औषधी, फलफूल लिएर भेट गर्न आएपछि स्थानीयले हेर्ने दृष्टिकोणमा फरक आएको चौधरीको बुझाई छ । उनमा क्रमिक सुधार गएपछि नगरपालिकाको स्वास्थ्यकर्मीले समय समयमा सम्पर्क गरी केही समस्या भए तुरुन्त खबर गर्न भन्दै आएका थिए । नगरपालिकाको हेरचाह र पत्रकारका विभिन्न छाता सङ्गठनको हौसलाले नै कोरोनालाई जित्न सकेको चौधरीको भनाई छ ।

त्यस्तै सोही ठाउँकी भूमिका रसाइली पनि नगरपालिकाले सहयोग गरेको बताउँछिन् । केही दिन अघि टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि एन्टिजेन् परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनी घरमा एक्लै बस्नु भन्दा आइसोलेसनमा बस्दा बढी हेरचाह हुने भएकाले आइसोलेसनमा बसेको बताइन् । त्यहाँ बस्दा उनलाई अझ श्वास फेर्न समस्या हुने, खान मन नलाग्ने भएपछि स्वास्थ्यकर्मीको टोलीको विशेष हेरचाहले कोरोना जित्न सकेको भनाई छ ।
आइसोलेसनमा हामीले जे भन्यो त्यही खाना, नास्ता नगरपालिकाले उपलब्ध गराउँदै आएको उनले बताइन् । आइसोलेसनको बारेमा बताउँदै भूमिकाले भनिन् ‘डाक्टरले बिहान बेलुका शारीरिक व्यायाम गर्नु भन्नु हुन्थ्यो, आत्मबल बढाउन बूढाबूढीका तस्बिर देखाउँदै उहाँहरूले त कोरोना जित्नु भयो । तपाईँहरू जस्तो उमेरदारीले पनि सहजै जित्न सक्नु हुन्छ भन्नु हुन्थ्यो ।’ उनले अझ थपिन् ‘त्यही कुराले गर्दा पनि मैँले हरेस खाइन जति पिडा भएपछि हौसला दिने डाक्टर र साथ दिने नगरपालिका, आफन्त, विभिन्न सङ्घसंस्थाका पदाधिकारी मेरालागि प्रेरणाका खानी हुनुहुन्छ ।’

सोही नगरपालिका २ बस्ने अनिल खड्का पनि नगरपालिकाले कोरोनामा देखाएको तत्परताको खुलेर बयान गर्छन् । कोरोना सङ्क्रमित भएपछि आफन्त र छरछिमेक डराइरहेको अवस्थामा नगरपालिका प्रमुख, स्वास्थ्यकर्मी, परामर्शदाता लगायतको टोली औषधी, फलफूल लिएर आउँदा साँच्चै नै स्थानीय सरकार जनताको पक्षमा रहेको उनको तर्क छ । टोलीले खाद्य सामग्री मात्रै हैन, केही स्वास्थ्य समस्या भए अस्पताल सम्मका लागि नगरपालिकाले यातायातको व्यवस्था गरेको समेत बताएको थियो ।

नगरपालिकाले सङ्क्रमितलाई मात्रै हैन लकडाउनका कारण ज्याला मजदुर गरेर खानेको काम बन्द भएकाले आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएको बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले बताए । उनले हाम्रो नगरपालिका भित्रका जनतालाई असहज परिस्थितिमा सकेसम्म सहयोग गरेको भनाई छ ।

नगरप्रमुख र प्रशासकीय अधिकृतले चढ्दै आएको गाडी जनताको सेवामा

दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण देखिएसगैं नगरपालिकाले दुई वटा गाडी सङ्क्रमित र बिरामीलाई बोक्न प्रयोग गरेको छ । नगरप्रमुख निलम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेश पोखरेलले चढ्दै आएका दुई वटा गाडी नगर भित्रका सङ्क्रमित र बिरामीको सेवाका लागि हस्तान्तरण गरिएको नगर प्रमुख खनालले बताए । हाल उक्त दुई गाडी आइसोलेसन सेन्टरमा राखिएको छ ।

यस्तो महामारीमा गरिब जनताका अगाडी गाडी चढेर हिँड्नु अशोभनीय भएको बन्दै जनताको सेवाका लागि दिएको बताए । उनले भने ‘बिरामी वा सङ्क्रमितलाई समयमै अस्पताल लान सवारीसाधन नहुने भएकाले नगरपालिकाको बैठकबाट नै गाडी दिने निर्णय गर्‍यौँ, अहिले म स्कुटरमा हिँड्ने गरेको छु ।’

५० बेडको आइसोलेसन सेन्टर

कोरोना सङ्क्रमितको उपचारका लागि नगरले ५० बेडको आइसोलेसन सञ्चालन गरिराखेको छ । सप्तकोसी बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

आइसोलेसनमा भर्ना भएका बिरामीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ ।
महामारीको रूप लिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको नगर प्रमुख खनालले जानकारी दिए ।

आइसोलेसनमा नगरपालिकाले सङ्क्रमित बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरिएको उनको भनाई छ । आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने पनि खनालले बताए ।
उक्त आइसोलेसनमा हाल ७ जना कोरोना सङ्क्रमित रहेका छन् ।

सङ्घीय सरकारले खोपको व्यवस्था नगरे नगरले आफैँ खोप किन्छ

कोरोनाको दोस्रो लहर कम भए पनि आम जनताले खोपको व्यवस्था गर्न पटक पटक आग्रह गरेको नगरप्रमुख खनालले बताए । जनतालाई कोरोनाबाट बचाउन र सुरक्षित राख्नु नगरको मुख्य दायित्व रहेको समेत उनको भनाई छ । त्यसका लागि सङ्घीय सरकार, प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने, यदि दुई तहका सरकारले खोपको व्यवस्था गर्न नसके नगरले नै एक करोडको खोप किनेर जनतालाई लगाउन प्रबन्ध मिलाउने समेत उनले बताए ।
नगरले आफ्नै लगानीमा ५ बेडको कोभिड अस्पताल समेत सञ्चालन गर्ने तयारी गरेको छ । वडा नम्बर ३ मा बन्ने अस्पतालमा चाहिने डाक्टर सहित दक्ष जनशक्तिको समेत व्यवस्था गरी सकिएको उनले बताए ।

‘अब सरकारले महामारीमा मात्रै हैन जुनसुकै आपतविपदका लागि पनि अस्पताल चाहिने भएकाले अस्पताल खोल्नु पर्छ । आमजनताको पनि भनाई यही छ । सरकारले अन्य तिर भन्दा पनि एक पालिकामा सम्पूर्ण सेवा सुविधा सहितको अस्पताल खोल्न ढिला गर्नु हुँदैन ।’ नगरप्रमुखले भने ।