इटहरीमा तयार भयो, १ करोड २३ लाखको लागतमा मुसहर बस्ती

इटहरीमा तयार भयो, १ करोड २३ लाखको लागतमा मुसहर बस्ती

घरबारविहीन मुसहर परिवारलाई व्यवस्थित बसोबासका लागि इटहरी उपमहानगरपालिकाले वडा नम्बर–१६ मा सामूहिक मुसहर बस्ती तयार पारेको छ। इटहरीका विभिन्न स्थानमा बाटो अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिविकोपार्जनमा सहयोग र जीवनयापनलाई थप व्यवस्थित बनाउनले उद्देश्यले इटहरी उपमहानगरले १५ मुसहर घरपरिवारलाई घर निर्माण गरेको हो ।

दीर्घकालीन सोचका साथ भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन्।

कोरोना महामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षित स्थानमा व्यवस्थित गर्ने उद्देश्यले सामूहिक मुसहर बस्ती निर्माण गरिएको उनको भनाइ छ।

तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरपालिकाको १० प्रतिशतमा लागतमा घर निर्माण भएका हुन् । मुसहर बस्ती विकास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७७/७८ मा ७७ लाख लागतमा १५ वटा घर निमाण भइसकेको छ । चालु आर्थिक वर्षमा ४६ लाखको लागतमा ६ वटा यस वर्ष तयार गरिएको छ । बषौंदेखि बाटो छेउछाउ अवेवस्थित रूपमा बसोबास गर्दै आएका अति विपन्न मुसहर समुदायलाई हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।

बस्तीको सुन्दरताका लागि एक सामुदायिक भवन, एक दिनभद्री (मुसहर समुदायको मन्दिर), चिल्ड्रेन पार्क, र बोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपमेयर गौतमले जानकारी दिइन् ।

मुसहर बस्तीमा स्थानान्तरण गरिने पहिलो चरणको ९ घर परिवारको नाम फाइनल गरिएको र अन्य ६ परिवारको नाम छनौट भइरहेको पनि उपमेयर गौतमले जानकारी दिइन्।

तर, मुसहर बस्ती निर्माण गरी सामूहिक रूपमा स्थानान्तरण गर्न लाग्दा केही परिवारले भने नयाँ बस्तीमा जान अस्वीकार गरेकाले उनीहरूलाई बस्तीमा पुर्‍याउन ढिलाइ भएको छ। नयाँ बस्तीमा जान अस्वीकार गर्ने मुसहर परिवारलाई सम्झाई बुझाई गर्ने काम भइरहेको उपमेयर गौतमले बताइन्।

अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मुसहर समुदाय नयाँ बस्तीमा गए पश्चात् उनीहरूका सबै समस्या हल हुने अपेक्षा नगरपालिकाको छ। उपमेयर गौतमका अनुसार उपमहानगरपालिका भरीका गरिब तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सबै मुसहर समुदायलाई क्रमिक रूपमा व्यवस्थित गरिँदै लैजाने उपमहानगरको तयारी छ।

पहिलो चरणको सामुदायिक मुसहर बस्ती निर्माणमा हाल सम्म एक करोड २३ लाख खर्च भैसकेको नगरप्रमुख चौधरीले बताए । मुसहर बस्तीमा निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक भवनमा दुइटा कोठा, एक किचन र ट्वाइलेट, बाथरुम र खानेपानीको टुवेल निर्माण गरिएको छ।