दलित युवतीलाई कोठा नदिने घरबेटी पक्राउ

दलित युवतीलाई कोठा नदिने घरबेटी पक्राउ

दलित युवतीलाई कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेर म्याद थपका लागि अदालतमा लगिएको एसएसपी सिंहले बताए। 

उनीविररुद्ध सञ्चारकर्मी २४ वर्षीया रुपा सुनारले प्रहरी उजुरी दिएकी थिइन्। कामीकी छोरी भन्दै प्रधानले उनलाई कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन्। कोठा भाडामा दिने तयारीमा रहेकी प्रधानले अन्तिममा जात सोधेकी थिइन्। आफुले ‘म त कामीको छोरी’ भनेपछि कोठा भाडामा नदिने निर्णय गरेकी थिइन्।

जातका कारण कोठा भाडामा दिन अस्वीकार गरेको भन्दै रुपाले शुक्रबार प्रहरीमा जाहेरी दिएकी थिइन्। मुलुकी फौजदारी संहिता २०७४ को दफा १६६ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने व्यवस्था गरेको छ। 

जातीय विभेद गरिएको खण्डमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। राष्ट्रसेवक कर्मचारीले यस्तो व्यवहार गरेको खण्डमा थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था संहिताले गरेको छ।