उपत्यकामा निषेधाज्ञा: आज सिडियो हरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा: आज सिडियो हरुको बैठक बस्दै

काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्ने उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमवार रातिबाट सकिने भएपछि थप आज बैठक बस्न लागेको ललितपुर जिल्लाका प्रमुख जिल्ला डुण्डीप्रसाद निरौलाले बताए।

‘भोलिबाट समय सकिने भएपछि आज बैठक बस्नुपर्ने हुन्छ। आज ४ बजेपछि बैठक बसेर केही निर्णय गर्छौं,’ सीडीओ निरौलाले भने।

यसपटक स्थानीय प्रशासनले केही क्षेत्र थप खुल्ला गर्ने तयारी गरेको छ। भाँडाकुँडा, लत्ताकपडा लगायतका पसलहरु खोज्न दिने तयारी गरेको छ। यस्ता खुलेका क्षेत्रलाई निश्चित समय तोकेर खोल्ने तयारी भइरहेको छ। अहिले काठमाडौं उपत्यकाभित्र खाद्यान्य बाहेक पुस्तक पसल, हार्डवेयर, कृषि बस्तुका पसललाई समय तोकेर दिइएको छ। अहिले दिइरहेको समयमा केही थप गर्ने तयारी समेत गरिएको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरुलाई समेत थप खुल्ला गर्ने तयार भइरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। संक्रमण कायमै रहेकाले सार्वजनिक सवारी साधन भने खुल्ने छैनन्। निजी सवारी साधानको हकमा भने जोरबिजोर प्रणालीमा संचालन गर्ने तयारी भइरहेको छ।

‘यस विषयमा विभिन्न विकल्पमा कुरा भएको हो। तर, अहिले खोल्न नै भन्ने टुङ्गो लागिसकेको छैन। सवारीको हकमा छलफलमा नै छौं,’ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

निषेधाज्ञा सम्बन्धि निर्णय गर्ने  कोभिड संकट व्यवस्थापन समिति (​डीसीसीएमसी)को बैठक पनि बस्दैछ। बैठकले गरेका निर्णयहरु अनुसार पनि थप निषेधाज्ञाको मोडालिटी तयार गरि निर्णय गर्ने प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड १९ व्यवस्थापन निर्देशक समितिले भने स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।

तर, स्थानीय प्रशासनलाई भने स्मार्ट लकडाउनको बारेमा प्रयाप्त जानकारी नगरिएकाले पनि निषेधाज्ञा के गर्ने भन्ने विषयमा देशभरका प्रमुख जिल्ला अधिकारी नै अलमलमा छन्। देशभर कोरोना संक्रमण  बढ्दै गएपछि देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।