२०७४ साल साउन २७ गतेको अविरल वर्षाका कारण सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले इटहरी ४मा पर्ने गैरी गाउँका ७ जनाको मृत्यु भयो । करोडौँ धनमाल बगायो । कयौँ घरपरिवार विस्थापित भए ।
उक्त घटना फेरि पनि नदोहरियोस् भनेर इटहरी उपमहानगरले २०७५ साल पौष २८ गतेबाट राष्ट्रपति चुरे संरक्षणबाट आएको करिब ६० लाख र अन्य स्रोत जुटाएर तारजाली लगाएर नदी नियन्त्रण गर्ने प्रयास गर्यो । तर त्यति ठुलो रकमबाट बनेको तटबन्ध चरम लापरबाही कै कारण फेरी लडेको छ । स्थानीय तहले मुख्य आयस्रोतका रूपमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएपछि उक्त तटबन्ध नजिकै कामदारले बालुवा गिटि ढुङ्गा निकालेपछि उक्त तटबन्ध लडेको हो ।
तत्कालीन टिका प्रसाद पराजुलीको अध्यक्षमा एक समितिबाट तटबन्ध निर्माण भएको थियो । कामको सुरुवातमै चित्तबुझ्दो काम नभएको भन्दै निर्माण गरिसकिएको जाली वाल पुनः निर्माण गरिएको थियो । निर्माण समितिले जग नै नखनी माथि माथि जालीवाल लगाउँदा यस्तो समस्या आएको स्थानीय अशेष तिम्सिनाले बताए ।
उनले प्राविधिक रूपमा कमजोर भएका कारण यस्तो अवस्था आएको भनाई छ । उनले भने ‘ बुढी खोलाले बर्षेनी इटहरी डुबान गर्दै आएको छ । तर दीर्घकालीन रुपमा काम गर्न नसक्दा स्थानीय वर्षा लागेसगैं त्रसितमा बाच्नु पर्छ ।’
पटक पटक उक्त स्थानबाट इटहरी बर्षायामको समयमा डुबानमा पर्दै आएको छ । वर्षा लागेसँगै सो खोला आसपास बस्ने स्थानीय रातभर जागराम बस्ने गरेका छन् ।
यता इटहरी ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईले गम्भीर लापरबाहीले जालीवाल लडेको स्वीकार गर्छन् । बालुवा गिटि उत्खनन कार्यलाई रोक्न नसक्दा यो अवस्था आएको उनको भनाई छ । पटकपटक वाल नजिक बालुवा निकाल्न बन्द गर्न नसक्दा जग भन्दा तलबाट पानी बग्न थालेको उनले बताए ।
सानो सानो रकमले रोकथाम गर्न खोज्दा वर्षेनी यो समस्या आउने गरेको उनले बताए । दीर्घकालीन समाधानका लागि योजना संञ्चालन गर्न नसक्दा इटहरीवासी त्रासमा बस्नु गरेको वडाध्यक्ष भट्टराईले बताए ।
यता इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले थप क्षति हुन नदिन निर्माणका लागि तत्काल काम गर्ने बताए । उनले अहिले नै काम गरे उक्त स्थानमा रहेका ढुङ्गा जाली काम लाग्ने र कामदारको मात्रै खर्च लाग्ने भएकाले काम सुरु गर्ने आश्वासन दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP