युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित ग-यो ।

विश्व विजेता फ्रान्सलाई जर्मनीविरुद्धको खेलमा भाग्यले साथ दियो । जर्मन खेलाडी म्याट्स ह्युमल्सले २० औं मिनेटमा गरेको आत्माघाति गोल निर्णायक बन्यो । यो पराजय जर्मनीका लागि महँगो हुनसक्ने विश्लेषण गरिएको छ । अब जर्मनीले सावित बिजेता पोर्चुगल र हंगेरीसँग खेल्नुपर्नेछ ।

हंगेरीको बुडापेष्टमा भएको पहिलो खेलमा पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल र राफेल गुरेरोले एक गोल थपे । यो खेलसँगै रोनाल्डोले युरोकपमा थप दुई वटा किर्तीमान आफ्नो नाममा राखेका छन् ।

रोनाल्डोले हिजोको खेल सुरु हुनेवित्तिकै सर्वाधिक ५० पटक युरोकप खेल्ने किर्तीमान बनाएका हुन् । खेलमा दुई गोल गरेपछि रोनाल्डोले युरोकपमा सर्वाधिक ११ गोल गर्ने किर्तीमान पनि आफ्नो नाममा राखेका छन् ।यसअघि फ्रान्सका मिचेल प्लाटिनी र रोनाल्डोको नाममा ९ गोलको संयुक्त किर्तीमान थियो ।

रोनाल्डोको दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । देइले १०९ गोल गरेका छन् ।

गएरातिको जितपछि पोर्चुगलले समुहमा अग्रता लिंदा समान ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु सकिएका छन् । आजबाट दोस्रो चरणका खेलहरु हुनेछन् । दोस्रो चरणको पहिलो खेलमा आज समुह ‘बि’ का दुई टोली फिनल्याण्ड र रुस भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे रुसको सेन्ट पिट्सवर्गमा हुनेछ । वेलुकी पौने १० बजे अजरबैजानको बाकुमा टर्कीले वेल्सको सामना गर्दा राती पौने १ बजे रोममा इटालीले स्विटजरल्याण्डसँग खेल्नेछ ।