डीआईजी सरुवामा अझै एक हप्ता लाग्ने

डीआईजी सरुवामा अझै एक हप्ता लाग्ने

 साढे १३ महिना वितिसक्दा पनि नभएको नेपाल प्रहरीका डीआईजीहरुको सरुवा अझै एक सातासम्म रोकिनसक्ने सम्भावना छ । यसअघि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका कारण प्रधानमन्त्रीले चासो नदिँदा सरुवा रोकिएको थियो । तर, गृहमन्त्रीमा खगराज अधिकारी नियुक्ती भएसँगै लामो समयदेखि रोकिएको सरुवा हुने अपेक्षा गरिएको छ । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुँदै आएको छ ।

नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्ने प्रहरी अधिकारीहरु बताउँदै आएका छन् । डीआईजीहरुको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्दछ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, “मन्त्रीज्युले सबै शाखाहरुको रिपोर्र्टिङ लिइरहनुभएको छ । अब केही दिनमा सरुवाको विषय पनि आउला ।”

कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको हो । सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पूरा भइसकेको छ ।

एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको थियो । तर, आईजीपी शैलेश थापा क्षेत्रीले पनि यसबारे चासो कम दिएकाले सरुवा समयमा हुन नसकेको आरोप पनि प्रहरीकै अधिकारीहरु लगाउँदै आएका छन् ।   

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा लागेका छन् । सातवटा प्रदेश र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नेतृत्व लिन डीआईजीहरु बढी सक्रिय भएका छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्णको चर्चा छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ । तर, आईजीपी थापा प्रदेशका नेतृत्व गरिसकेका डीआईजीलाई सीआइबीमा नल्याउने मनसायमा रहेको बताइन्छ ।

यस्तै रवीन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । तर, सरुवामा प्रधानमन्त्री केपी ओलीले आफूनिकटका व्यक्तिलाई सरुवामा प्राथमिकता दिने सम्भावना बढी छ । त्यसैले डीआईजीहरु सरुवाका लागि वालुवाटार निकटका व्यक्तिमार्फत लविङमा छन् ।