भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्ने बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिनुभएको हो ।
नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटो भन्दा छिटो सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ । यति हुँदा हुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ । कोभिड महामारीले बाधा पुर्याएकाे छ । अध्यादेश ल्याउने, जीएम नियुक्त गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौँ । रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिसके पछाडि अब नीतिगत, व्यावहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ । यस्तो अवस्थामा लकडाउन खुल्ने बित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका नागरिकलाई रेलको सेवा प्रदान गर्नुपर्छ । १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’
मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालामा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘साना वोटहरू हाम्रा नदीनालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आउँदाे आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदारुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’
मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका निम्ति रुट बनाउँदा खुवालुङको ढुङ्गाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पार्नुभयो । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उहाँको भनाइ छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन ।’
आउँदाे दिनको कार्ययोजना स्पष्ट रूपमा बनाएर काममा लाग्न पनि उहाँले पानी जहाज कार्यालयलाई निर्देशन दिनुभयो । त्यसैगरी यातायात व्यवस्था विभागले पनि अहिलेसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिने गरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP