फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको टिम आइबार स्वदेश फर्कने भएको छ ।
कोरोना महामारीका कारण एएफसीले न्यूट्रल भेन्यूका रुपमा कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेल मध्य एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ ।
नेपाली टिमले इराकसँग ६–२ गोल अन्तरले पराजय भोगे पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसपछि कुवेत गएको नेपाली टिमले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६ अंक बनाउन सफल भयो । त्यसपछि जोर्डन र अस्ट्रेलियासँग नेपाली टिमले समान ३–० गोल अन्तरले पराजय भोग्न बाध्य भयो ।
विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एशियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी नै रहेको छ । त्यसका लागि अहिले अन्य टिमहरुको पनि समूह चरणको खेल सकिनु पर्ने छ । त्यसपछि मात्रै प्ले अफ पुग्ने या नपुग्ने टुंगो पनि लाग्ने छ ।
नेपाली फुटबल टिमको प्रशिक्षकका कतारका अब्दुल्लाह अल्मुताइरी आएपछि पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रदर्शन भने उत्कृष्ट नै मान्न सकिन्छ । लामोसमयदेखि गोलको खडेरी रहेको नेपाली टिमले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका लागि राम्रो शंकेत गरेको छ ।
२३ जना खेलाडी र १२ जना अफिसियलसहित गएको नेपाली टिम कुवेतबाट आज राति नै प्रस्थान गर्ने छ । त्यहाँबाट कतारको दोहा आइपुग्ने नेपाली टिम काठमाडौं विमानस्थलमा भने आइतबार बेलुका आइपुग्ने जनाइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP