फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज ‘शुक्रबार’ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।
तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
यस्तै प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताउँछन् ।
यस्तै प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा सुरुवाती-११ मा परिवर्तन हुने समेत बताए । समूह ‘बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।
नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ । जारी छनोटमा नेपालले यस अघि चाईनिज ताईपेलाई २-० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३(० ले पराजित भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP