संयुक्त राष्ट्रसंघका अधिकारीहरुले म्यानमारमा सेनाको आक्रमणबाट विस्थापितहजारौं नागरिक भोकमरी र रोगका कारण मृत्यु हुनसक्ने बताएका छन्।
पूर्वी म्यानमारको कायाह राज्यमा सेनाले गरेको क्रूर व्यवहार र अन्धाधुन्ध हमलाका कारण हजारौं नागरिक विस्थापित भएका छन्। बुधवार एक विज्ञप्तिमा म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत टोम एन्ड्र्युजले तुरुन्त अन्तर्राष्ट्रिय शक्ति राष्ट्रले कदम चाल्नुपर्ने माग गरेका छन्।
‘गत फेब्रुअरी सेनाले‘ कू’ गरेपछि हजारौं पुरुष, महिला र बच्चाहरूको ज्यान जोखिममा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘भोकमरी र रोगबाट धेरैको ज्यान जान सक्छ। तत्काल अन्तर्राष्ट्रिय कदम चाल्नुपर्छ।
म्यानमारमा संयुक्त राष्ट्र संघको कार्यालयले कायाहमा भएको हिंसामा अनुमानित एक लाख नागरिक विस्थापितभएको जानकारी दिएको छ। उनीहरुका अनुसार म्यानमारबाट बिस्थापितहरु सुरक्षाको खोजि गर्दै अन्तर्राष्ट्रिय सीमा, वन, आफन्तको घर र छिमेकी शान राज्यको दक्षिणी भागमा बसिरहेका छन्।
सेनाले आक्रमण गरेको स्थानमा अहिले खाद्यान्न, पानी, शिविर, इन्धन र स्वास्थ्यसेवाको आवश्यकता रहेको बताइन्छ।
‘यो संकटले धेरै नागरिकलाई सुरक्षाको खोजीमा अन्तर्राष्ट्रिय सीमा पार पुर्याउन सक्छ। यसैले सबै पक्षहरूलाई नागरिक र नागरिक पूर्वाधारको रक्षाका लागि आवश्यक उपाय र सावधानी अपनाउन आह्वान गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।
म्यानमारमा सेनाले ‘कू’ गरेसँगै मुलुकमा हिंसा बढेको छ। अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनालाई जनताको हातमा सत्ता सुम्पिन आग्रह गर्दै आएका छन्। तर, सेनाले भने त्यसलाई बेवास्ता गर्दै आएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP