हिजोदेखि देशका धेरै ठाउँमा कोरोनाविरुद्धको भेरोसेल खोप दिन थालिएको छ । काठमाण्डौ उपत्यकामा ६० देखि ६२ र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकले यो खोप पाउने छन् ।
यो सँगै काठमाण्डौ उपत्यकामा पहिलो डोज भेरोसेल लगाएर दोस्रो डोज लगाउने बेलामा उपत्यका बाहिर गएका व्यक्तिहरुले पनि अहिले यो खोप पाउने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । यस्तै, यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्न गर्नेहरु तथा तिब्बतसँग सिमाना जोडिएका जिल्लाका पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिले पनि अहिले यो खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।
हिमाली जिल्लाहरुमा यस अघिको ५५ वर्ष माथिको खोप कार्यक्रममा छुटेकाहरु पनि अहिलेको खोप कार्यक्रममा समेटिने छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस र पहिलो खोप लगाएको भए खोप कार्ड आफूसँगै बोकेर लैजानु पर्दछ ।
चीनले केही दिन अघि अनुदानमा दिएको भेरोसेलको १० लाख डोज खोप अहिले लगाउन थालिएको हो । खोप आएपछि देशभरका ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई दिने भनिए पनि खोप अपुग हुने भन्दै काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिरका लागि ६२ देखि ६४ वर्षको उमेर समूहलाई दिने जनाएको हो । अहिले पहिलो खोप भेरोसेल पाएकालाई दोस्रो मात्रा दिन पुग्ने गरी उमेर समूह छुट्टाइएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP