कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू हुनेछ ।
जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक ५०० रुपैयाँ दिने गरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भत्ता पाउने गोठालोले भने ५ भैंसी, ५० बाख्रा, ५ चौंरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।
‘नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरूलाई हेयका दृष्टिले हेर्न थालिएको छ,’ कृषिमन्त्री शाहीले भने, ‘कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत्त्व बढाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकता दिएको हो ।’
उनले भने, ‘मन्त्रालयले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, कृषि मन्त्रालयअन्तर्गत जिल्लामा रहेका कृषि कार्यालय र यस प्रदेशका कृषि विज्ञ, अध्येता र सरोकारवालाहरूको सुझावलाई आधार बनाएर नीतिगतरूपमा योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेको छ । ती योजनालाई नै प्राथमिकता दिएर प्रभावकारी कार्यान्वयनमा जोड दिनेछौं ।’
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP