सुनसरीको धरान-१५ अस्थायी प्रहरी चौकीमा जेठ १३ गते प्रहरी माथि आक्रमण गर्ने १० जना मध्ये ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ
उक्त घटनामा संलग्न मध्ये २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बुलाई जेठ १८ गते धरान ५ देउरालीमा लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
पछिल्लो समयमा घटनाका मुख्य आरोपीहरू ३० वर्षीय वसन्त राई ३२ वर्षीय रेगन लिम्बु धनकुटा जिल्लाको छथर जोरपाटी ४ बन्चरे एरियामा पुगी लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा प्रदेश ब्युरो, सुनसरी र धनकुटा प्रहरीको टोलीले उक्त एरियालाई लक्षित गरी सघन अपरेसन सुरु गरेको थियो ।
प्रहरी नजिकै पुगेको, भाग्न उम्कन सक्ने अवस्था नदेखी हताश भएका उनीहरू गए राति जिल्ला प्रहरी कार्यालय धनकुटामा स्थानीय जनप्रतिनिधिको सहयोगमा आत्मसमर्पण गरेका थिए ।
आत्मसमर्पण गरेका २ जनालाई मंगलबार धरान ल्याई उनीहरू विरुद्ध सुनसरी जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
जेठ १३ गते साँझ प्रहरी चौकीमा दुईजना युवा उजुरी दिन भन्दै पुगेका थिए। चौकी इञ्चार्ज एवं असई सुमन दाहालले उनीहरुसँग कुराकानी गरिरहँदा हतियारसहित युवाहरुको समूह चौकीभित्र प्रवेश गरेर जथाभावी आक्रमण गरेका थिए। त्यसक्रममा असई दाहाल गम्भीर घाइते भएका थिए भने अन्य प्रहरी पनि सामान्य घाइते भए।
ती आक्रमणकारी युवाहरुले चौकीमा ढुंगामुढा गरेर तोडफोड गरी फरार भएका थिए।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP