आजबाट भेरोसेल खोप लगाइँदै

आजबाट भेरोसेल खोप लगाइँदै

कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज आजबाट दिइने भएको छ । खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।

सुरुमा ६० देखि ६४ वर्षका देशभरका नागरिकले यो खोप पाउने भनिए पनि अन्तिम समयमा आएर केही फेरबदल गरिएको छ । काठमाडौं उपत्यकाबाहेक देशभरिका अन्य जिल्लामा ६२, ६३ र ६४ वर्षका व्यक्तिलाई मात्रै यो खोप दिइने छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी, काठमाडौं उपत्यकामा पहिलो डोज भेरोसेल लगाएका र दोस्रो डोज लगाउने बेला काठमाडौंबाहिर भएका व्यक्तिहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरुले पनि यो खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ । 

तिब्बतसँग सीमा जोडिएका जिल्लाका पालिकाहरूमा १८ वर्ष माथिका सबै व्यक्तिले पनि यो खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस र पहिला खोप लगाएको भए खोप कार्ड सँगै बोकेर जानु पर्ने छ ।