इटहरी औषधी पसल विवादः सप्लायर्स प्रमुखले भने गल्ती भएकै हो

इटहरी औषधी पसल विवादः सप्लायर्स प्रमुखले भने गल्ती भएकै हो

केही दिन अघि इटहरीका एक ब्यत्तिले आफ्नो बच्चालाई सनलाईट डी थ्री नामक औषधी खुवाए । बच्चाले केही छिन् मै बान्ता गरेपछि पक्कै पनि सोही औषधीले हुनु पर्छ भन्दै इटहरी उपमहानगरमा उक्त औषधी छानबिन गर्न माग गरे ।

बुधवार औषधीको विषयमा इटहरी उपमहानगरका राजस्व शाखा प्रमुख नवीन भट्टराई, उपभोक्ता संरक्षण मञ्च सुनसरी लगायतको टोली इलाका प्रहरी कार्यालय अगाडी रहेको इटहरी सामुदायिक अस्पतालमा सो औषधीको बारेमा खोजी गर्‍यो ।

अस्पतालका कर्मचारीले उक्त औषधी देखिएपछि भारतबाट आएको औषधीको खोलमा औषधी उत्पादन मिति र म्याद सकिने कम्पनीको मितिलाई केरमेट गरी नयाँ नक्कली स्टिकर टाँसेको फेला पर्‍यो ।

अनुगमनका क्रममा अन्य म्याद गुज्रिएको औषधी भेटेपछि टोलीले उक्त अस्पताललाई ताला लगायो । अनुगमनका क्रममा इटहरी उपमहानगर राजस्व शाखा प्रमुख भट्टराईले उपमहानगरले कारबाही गर्न मिल्दैन भोलि सम्बन्धित निकायसँगको छलफलमा बोलाउँछौ । त्यसपछि के कारबाही गर्ने हो उहाँहरूले गर्नु हुन्छ भन्दै अर्को एक मेडिकलमा अनुगमन गरे ।

त्यो मेडिकल रहेको थियो पश्चिम लाइनमा रहेको कलश पोलिक्लिनिक । यो मेडिकलमा पनि उही समस्या देखिएपछि सो मेडिकलमा ताला गगाउँदै भोलि बैठकमा आउनु भन्दै अनुगमन टोली बाहिरिएको थियो ।

दुवै औषधी पसलमा एकै समस्या देखिएपछि उक्त औषधी बिक्री गर्ने सप्लायर्स एरव मेडिकोस् एण्ड ट्रेडिङमा टोली पुग्यो । सप्लायर्सका सञ्चालक बासुकी सुमन झाले भारतबाट आएको औषधीमा उतैबाट आउँदा नै केरमेट गरेर आको हुन्छ, यसमा हाम्रो केही दोष छैन भन्दै पञ्छिन खोजे ।

उनले आफ्नो कम्पनीले ४÷५ महिना यता उक्त औषधी बिक्री नगरेको बताएका थिए । तर बिल हेर्दा गत जेठ ७ गते रामधुनी मेडिकल हललाई सोही औषधी बिक्री गरेको फेला परेपछि उक्त सप्लायर्सलाई समेत ताला लगाएको थियो ।

सञ्चालक झाले आफ्नो तर्फबाट गल्ती भएको भन्दै दुई दिनभित्र बिक्री गरेका सम्पूर्ण पसललाई खबर गरी उक्त औषधी फिर्ता गर्ने प्रतिबद्धता समेत बताएका थिए । (उक्त भिडियो सुरक्षित राखिएको छ)

अनुगमन टोलीका प्रमुख भट्टराईले अब उहाँलाई के कारबाही गर्नु हुन्छ भन्ने प्रश्नमा स्थानीय सरकारले कारबाही गर्दैन कारबाहीका विषयमा सम्बन्धित निकायसँगको छलफलबाट निकास निकाल्ने बताएका थिए ।

सोही बजार अनुगमनका विरुद्धमा इटहरीका सम्पूर्ण औषधी पसलले आज (बिहिबार) इटहरी उपमहानगरको गेट अगाडी विरोध जनाएका छन् । उनीहरूले अनुमानका भरमा जबरजस्ती मेडिकलमा ताला लगाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका क्रममा औषधी व्यवसायी सङ्घ इटहरीका अध्यक्ष सञ्जीव खड्काले अनविज्ञ टोलीले अनुगमन गरेको भन्दै आन्दोलनमा अत्रिनु परेको बताए ।

नियोजित रूपमा उपमहानगरले सङ्कटमा रहेको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ताला लगाएको भन्दै व्यवसायीले आज दिनभर पसल समेत बन्द गरेका छन् ।

आन्दोलन गरेपछि उपमहानगरमा नागरिक समाज लगायतको बैठक बसेको छ । उक्त बैठकले आजका मितिबाट म्याद गुज्रिएका औषधीका लागि अलग्गै राख्नु पर्ने, उपमहानगरको अनुगमनलाई साथ दिनु पर्ने लगायतका निर्णय गर्दै बुधवार बन्द गराएका सम्पूर्ण औषधी पसल खोल्ने निर्णय भएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनले बजार अनुगमनलाई थप सशक्त बनाउने समेत बताएकी छन् ।