इटहरीमा अक्सिजनसहित ५० वेडको आइसोलेसन संचालनमा

इटहरीमा अक्सिजनसहित ५० वेडको आइसोलेसन संचालनमा

सुनसरीको इटहरीमा अक्सिजनसहित ५० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको छ । इटहरी उपमहानगरले इटहरी रङ्गशालामा छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुट्टा छुट्टै ब्लकमा सुविधा सम्पन्न आइसोलेसन संचालनमा ल्याएको जानकारी दिए । आज (बुधबार) साँझदेखि कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

अक्सिजन नेबुलाइजरसहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिमको गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले बताए ।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी ‘स्टेण्ड’ रहने र एम्बुलेन्समार्फत अन्य अस्पताल रिफर गरिने उनले बताए ।