औषधी पसलको चरम कालोबजारी, सेनिटाइजरमा १०० प्रतिशत भन्दा बढि नाफा राख्छन् व्यापारी

दिप खबर
बैशाख २८, २०७८

जनगुनासो बढ्दै गएपछि इटहरीमा रहेका मेडिकल तथा औषधी पसलमा अनुगमन गरिएको छ । स्वास्थ्य सामग्री सेनिटाइजर र मास्कमा चरम कालोबजारी भएको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरीका ३ मेडिकलमा अनुगमन गरेको हो । ३ ओटा मध्ये दुई वटा मेडिकल विविता सर्किजल हाउस र होम्ताङ आयुर्वेदिक औषधालय पोलिक्लिनिक कारबाहीमा परेका छन् ।

अनुगमनको क्रममा बजार मूल्यभन्दा बढी मूल्यमा स्यानिटाइजर बिक्री गरेको भन्दै अनुचित व्यापारिक क्रियाकलाप कसूरमा विविता सर्किजल हाउसलाई कारबाही गरिएको उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । यो मेडिकल पसलले भारतमा उत्पादन भएको स्यानिटाइजर यहाँ ल्याएर १०० प्रतिशतभन्दा बढी नाफा राखेर विक्री गरेको पाइएको उनले बताए । ‘इटहरीमा रहेको स्यानिटाइजरको थोक बिक्रेता विविता सर्किजल हाउसले भारतीय बजारबाट रु ३९.३० रुपैयाँमा खरिद गरेको स्यानिटाइजर ८० रुपैयाँमा बिक्री गरेको हामीले भेट्यौँ’, उनले भने ।

त्यस मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरी नगद दुई लाख जरिवाना गरिएको पोखरेलले जानकारी दिए ।

यस्तै कम्पनीको नाम एउटा भएपनि फरक फरक नाम राखेर बिल बिजक गर्ने गरेको, कम्पनी होलसेल तथा सप्तार्यस भने पनि खुद्रा मूल्यमा अधिकतम नाफा राखेर सेनिटाइजर बिक्री गर्ने गरेको भन्दै होम्ताङ्ग औषधालय पोलिक्लिनिकलाई कारबाही गरिएको छ । त्यस मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिल बिजक जारी नगरेको कसुरमा कारबाही गरिएको उनले बताए ।

ऐन बमोजिम पोलिक्लिनकलाई २० हजार जरिवाना गरिएको छ । यस्तै इटहरी मेडिकल हलले खरिद र बिक्री मूल्यबिचको अन्तर कानुन बमोजिम २० प्रतिशत राखेकाले कुनै कारबाही नगरिएको पोखरेलले बताए ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत त्रिलोचन न्यौपानेले यस अघि पनि औषधी पसलमा मास्क र सेनिटाइजरको अनुगमन गरिएको बताए । अनुगमन गरिएपनि जनगुनासो व्यापक बढ्दै गएपछि पुन बजार अनुगमनलाई जोड दिएको उनको भनाई छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP