बराहक्षेत्रका मेयर खनालको टोली फलफूल र औषधी बोकेर कोरोना सङ्क्रमितका घरघरमा

बराहक्षेत्रका मेयर खनालको टोली फलफूल र औषधी बोकेर कोरोना सङ्क्रमितका घरघरमा

सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल कोरोना सङ्क्रमितलाई भेट्न घरघर पुगेका छन् । उनी सहित स्वास्थ्यकर्मी, मनोविमर्शकर्ताको टोली सङ्क्रमितको घर पुगेर शिग्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल, पौष्टिक आहार र औषधी वितरण गरेका हुन् ।

कोरोना सङ्क्रमित व्यक्तिलाई नगरपालिकाले एक कार्यक्रम नै बनाएर हौसला प्रदान गर्न घर पुगेको बताए । उनले भने ‘यति बेला सङ्क्रमितलाई एक्लोपन महसुस हुन्छ । एकान्तबासमा बस्दा आत्मबल कमजोर हुन्छ । यसले गर्दा सामान्य अवस्थामा रहेका सङ्क्रमित पनि जटिल अवस्थामा पुग्ने गरेका छन् । यही विषयलाई गम्भीर रुपमा लिएर नगरपालिका अहिले सङ्क्रमितको घरघरमा पुग्ने गरेको छ ।’
मेयर खनालले सङ्क्रमितलाई कुनै समस्या भए तत्काल नगरपालिका, स्वास्थ्यकर्मीलाई सिधा सम्पर्क राख्न समेत आग्रह गरेका छन् ।

आफुँले चुनेको जनप्रतिनिधि समस्यामा परेका बेला घरमै फलफूल तथा औषधी बोकेर आएपछि कोरोना सङ्क्रमित खुसी भएका छन् । उनीहरूले स्थानीय सरकारले जनताको भावना अनुसार काम गरेको भन्दै मेयर खनालको टोलीलाई धन्यवाद समेत दिएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर चलेसगैं बराहक्षेत्रमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० जना रहेका छन् ।

बराहक्षेत्र नगरपालिकाले जनताको समस्यालाई बुझ्दै एम्बुलेन्स नभएको अवस्थामा मेयर खनाल र प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको गाडी एम्बुलेन्स बनाएर सञ्चालन गर्ने घोषणा गरिसकेको छ । यस्तै नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन वाड समेत निर्माण गरिसकेको छ ।