इटहरीमा ५० शय्याको आइसोलेसन निर्माण अन्तिम चरणमा, अक्सिजनको अभाव हुँदैन ढुक्क हुनुहोस् : उपप्रमुख गौतम

इटहरीमा ५० शय्याको आइसोलेसन निर्माण अन्तिम चरणमा, अक्सिजनको अभाव हुँदैन ढुक्क हुनुहोस् : उपप्रमुख गौतम

सुनसरीको इटहरी रङ्गशालामा ५० शय्याको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ ।
इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसन अबको तीन दिन भित्रमा तयार भइसक्ने गरी तयारी तीव्र पारिएको हो ।

आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष सङ्क्रमितका लागि अलग अलग स्थानको व्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । आइसोलेसनमा २० बेड महिला र ३० बेड पुरुषका लागि छुटाइएको छ । आइसोलेसनमा स्नान गृह, शौचालय, खानेपानी, वाई फाइ समेतको सुविधा हुने छ ।

खानपानको व्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन सञ्चालनमा ल्याइने उपप्रमुख गौतमले बताइन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने छ ।

आइसोलेसनमा सङ्क्रमित वा अवस्था जटिल भएका व्यक्तिलाई ओसारपसारका लागि दुई ओटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।

उनले एउटा एम्बुलेन्सले सङ्क्रमित ओसारपसारमा राखिएको छ भने अर्को एम्बुलेन्सले सामान्य अबस्थामाा रहेका व्यक्तिका लागि तयारी अवस्थामा राखिएको बताए । भोलिका दिनमा कोरोना भाइरसका बिरामी बढे अन्य एम्बुलेन्स समेत तयारीमा राखिएको धमलाको भनाई छ ।

इटहरीका निजी अस्पताल आइसोलेसन वाडको व्यवस्था गर्न तयार

इटहरीका निजी अस्पतालले कोरोना सङ्क्रमण बढ्दै गए सक्ने सहयोग गर्ने बताएका छन् । आज (बुधवार) इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको निजी अस्पताल सञ्चालकसगंको बैठकमा इटहरीमा रहेका ४ वटा अस्पताल एपेक्स अस्पताल, पशुपति मोडल अस्पताल, इटहरी सामुदायिक अस्पताल र वेदान्त अस्पतालले महामारीमा प्रत्येकले ५ बेड सम्मको आइसोलेसन वाडको ब्याबस्था गर्ने बताएका हुन् ।

दिनप्रतिदिन कोरोना भाइरसका कारण सङ्क्रमित थपिने तथा मृत्यु हुने दर बढेपछि पूर्व तयारी सम्बन्धी इटहरी उपमहानगरले बैठक डाकेको थियो । उक्त बैठकमा सहभागी निजी अस्पताल सञ्चालकले डाक्टर र लगानीकर्ता सँग बसेर छलफल गरी असहज परिस्थितिमा सहयोग गर्ने प्रतिबद्धता जनाएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनले भनिन् ‘उहाँहरू सकारात्मक हुनुहुन्छ, आन्तरिक छलफलबाट आपतकालिन अवस्थामा सहयोग गर्ने बताउनु भएको छ ।’

जटिल अवस्थामा पनि इटहरीमा अक्सिजनको अभाव हुँदैन

कोरोना सङ्क्रमितको दिनप्रतिदिन अक्सिजन अभावले ज्यान गुमाइरहेका बेला इटहरी उपमहानगरले भने बढ्दो सङ्क्रमितलाई ध्यानमा राख्दै अक्सिजन अभाव नहुने बताएको छ । प्रदेश १ मा ५ ओटा अक्सिजन उद्योग मध्ये २ ओटा उद्योग इटहरीमै रहेकाले जति पनि अक्सिजन उत्पादन गर्न सक्ने उपप्रमुख गौतमले बताइन् । बुधवार उपप्रमुख गौतम सहितको टोलीले इटहरी १० मा रहेको दुर्गा अक्सिजन उद्योग र इटहरी १३ मा रहेको पाथीभरा अक्सिजन उद्योगमा अनुगमन गर्दा अक्सिजनको अभाव हुने नदेखिएको गौतमले बताइन् । उनले इटहरी बासीलाई धान्ने भन्दा बढी अक्सिजन उत्पादन हुने रहेछ, अहिले बजारमा हल्ला आएजस्तो आत्तिनु पर्ने अवस्था नरहेको गौतमको दाबी छ ।