सुनसरीमा थप कडाई गर्दै ३१ गते सम्मका लागि निषेधाज्ञा जारी, यातायात पुर्ण रुपमा बन्द

दिप खबर
बैशाख २१, २०७८

सुनसरी जिल्लाभर बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।

मंगलबार (आज) जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा कोरोना संक्रमणको दर तीब्ररुपमा वृद्धि हुदै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि बैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । यसअघि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेपनि अब भने जोरबिजोर प्रणाली समेत हटाइएको छ । अत्यावश्यक बाहेक हिँडडुलमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ ।

बैठकले अत्यावश्यकबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु बैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।

महेन्द्र राजमार्ग हुदै सुनसरी जिल्ला भएर अन्य गन्तव्यमा गएका सवारीसाधनहरु भने जिल्ला भर रोक्न नपाउने र अत्यावश्यक सेवाका सवारीहरु पनि निर्वाध चल्न पाउनेछन् ।

बैठकले औषधी, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नदिने पनि निर्णय गरेको छ । खाद्य वस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायीहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने र अन्य सम्पुर्ण पसल, व्यवसायीहरु पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP