पूर्वको पर्यटकीय स्थल भेडेटारमा खानेपानीको हाहाकार

दिप खबर
बैशाख ७, २०७८

पूर्वको पर्यटकीय क्षेत्र तथा सुनसरी र धनकुटाको सङ्गम स्थल भेडेटारमा खानेपानीको हाहाकार मच्चिएको छ । सुख्खायामको समयमा पानी व्यवस्थापन गर्न नसक्दा उक्त स्थलमा पानीको हाहाकार मच्चिएको हो ।
खोला नाला तथा मुलमा पर्याप्त पानी बगिरहेमनि भेडेटार खानेपानी उपभोक्ता समितिले चासो नदिँदा बिग्रिएको पाइपलाइन नबनाउँदा स्थानीय जारको पानी किनेर खान बाध्य छन् । पानी नहुँदा सो क्षेत्रमा खोलिएका होटल, तथा स्थानीयले जारको पानी प्रतिलिटर २ रुपैंयाका दरले किनेर उपभोग गर्दै आएका छन् ।
हामीले भेडेटार खानेपानी संस्थाको पानी नदेखेको मैनौं दिन भयो । दैनिक होटल सञ्चालनमा हजारौँ लिटर पानी चाहिन्छ । प्रतिलिटर १ देखि २ रुपैंयामा जारको पानी किन्दा होटलमा चाहिने खाद्य सामग्री भन्दा खानेपानीको पैसा बढी तिर्नु पर्ने समस्या रहेको सनराइज होटल सञ्चालक मिन कुमार राईले बताए । उनले भने “फागुन महिनाको अन्तिमबाट धारामा पानी आएको छैन । अहिले होटलमा दैनिक ३ हजार देखि ५ हजार लिटर पानी खपत हुन्छ । त्यसबाट दैनिक कम्तीमा पनि ५ हजार खर्च हुन्छ ।” राई जस्तै ब्युटी पार्लर व्यवसाय गर्दै आएकी नेमिता आङ्बुहाङको पनि समस्या उस्तै छ । उनलाई मासिक ६ हजार लिटर खानेपानी आवश्यकता पर्छ । दैनिक उपभोग गर्नका लागि जारको पानी किन्नु बाहेक अन्य विकल्प छैन उनीसँग । उनी भन्छिन् । यस ठाउँमा पर्याप्त खोलानाला छन् । तर स्थानीय तह र समितिको आन्तरिक समस्याका कारण खानेपानीको समस्या भोग्न बाध्य रहेको उनको बुझाई छ ।
भेडेटारमा दैनिक खानेपानी उपभोग गर्ने स्थानीयको सङ्ख्या १ सय ५० भन्दा माथि छ । त्यसमापनि करिब ६० ओटा ब्यबसायिक होटल रहेका छन् । भेडेटार खानेपानी उपभोक्ता समितिको कमजोरीका कारण यस ठाउँका स्थानीय खानेपानीको हाहाकारमा बस्न बाध्य छन् । भेडेटारमा खानेपानीको समस्या भने यो पहिलो पटक हैन यहाँ सुख्खायामको समयमा खानेपानीको चरम अभावका कारण स्थानीय वर्षौ देखि आजित छन् । यता सागुँरीगढी गाउँपालिका ६ का वडा अध्यक्ष यमप्रकाश मगर पनि खानेपानीको चरम समस्या रहेको स्वीकार गर्छन् । समितिलाई वार्षिक ५० लाख रुपैंया सरकारी निकायबाट आए पनि पर्याप्त जनशक्ति, अनुभवी टिमबाट बिग्रेका स्थानमा पुनः बनाउन नसक्दा भेडेटारमा वर्षेनि खानेपानीको समस्या हुने गरेको उनको भनाई छ । समितिले सोचेअनुरूप काम गर्न नसक्दा भेडेटारबासीले खानीको समस्या भोग्नुपरेको अध्यक्ष मगरको जोड छ । उनी भन्छन् “अहिलेको समितिले काम गर्न सकेन अब पुरै नयाँ समिति बनाएर काम गर्नु पर्छ ।”

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP