नेपालगन्ज: बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा शनिबार भिषण आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट भएका छन् ।
घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो साढे ३ बजेतिर आगलागीमा परी ४ जना घाइते भएका छन् ।
घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए ।
जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं. १ मा २४, वडा नं. २ मा १८, वडा नं. ४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको बताए ।
आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।
फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP