इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ । शनिवार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले शिलालेख अनावरण गरी भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नयाँ भवनबाट उपभोक्तालाई सहज र सरल पारदर्शी तवरले काम गर्ने आशा व्यक्त गरे । उनले संस्थाले संस्थागत रूपमा गतिलो भवनबाट जबाफदेही, उत्तरदायी भई आजको प्रविधिसँग जोडिएर उपभोक्तालाई सेवा प्रदान गर्ने विश्वास रहेको बताए । मुख्यमन्त्री राईले जनसङ्ख्याको बढ्दो चापलाई ध्यानमा राखेर आफ्नो लक्ष्य र कार्ययोजना बनाउन र विकासको पथमा अघि बढ्न सुझाव दिए ।
उनले देश अहिले समृद्धिको फराकियो यात्रामा अघि बढेको बताए । तिनै तहको सरकार मात्रै नभएर सबै पक्ष समृद्धिको यात्रामा एक भएर अघि बढेको बताए । देशलाई तीव्र गतिमा विकास गर्न चाहेको उनको भनाइ थियो । त्यस्तै प्रदेश सांसद सर्वध्वज सावाँले नयाँ भवन गज्जब राम्रो बनेको बताए । उनले खानेपानीको धारा वितरण र मर्मत गर्दा ठुलो खाडल खन्न नपर्ने गरी मर्मत गर्न आग्रह गरे । उनले खानेपानी संस्था इटहरीमा भ्रष्टाचार भएको भन्ने आरोपहरूबारे ठोस प्रमाणसहित आउन आग्रह गरे । ‘कसले खायो, कर्याककुरुक बाँधेर ल्याएर थन्काउन् न,’ उनले नेपालीहरूको हलुका टिप्पणी गर्ने बानी नराम्रो भएको बताउँदै भने, ‘होइन भने त्यत्तिकै चरित्र हत्या गर्न पाइन्छ र ?’
खानेपानी उपभोक्ता संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईले संस्थाको प्रगतिबारे जानकारी गराएका थिए । साढे १८ हजार खानेपानी धारा वितरण भई दैनिक १८ घण्टा खानेपानी वितरण भइरहेको उनले बताए ।
उनले संस्थाका कामलाई प्रविधिको प्रयोग गरी अघि बढाइएको जानकारी दिँदै आगामी दिनमा गर्ने कामहरूको बारेमा समेत जानकारी गराएका थिए ।
वि.स.२०५३ सालमा स्थापना भएको संस्थाको पुरानो भवन सानो र सङ्कुचन भएपछि नयाँ निमार्ण गरिएको हो । भवन २०७५ सालमा सम्पन्न भए पनि विभिन्न कारणले औपचारिक रूपमा उद्घाटन गरिएको थिएन ।
नेपाल सरकारको ७० प्रतिशत अनुदान र बाँकी ३० प्रतिशत संस्थाको गरी जम्मा ८९ लाख लागतमा भुईँ तला निर्माण गरिएको थियो । बाँकी ३ तला निर्माणका लागि संस्थाको आफ्नै श्रोतबाट १ करोड ५० लाख रकम निर्माण गरिएको हो । १५ ओटा कोठा रहेको भवनमा ६० जना अट्न सक्ने बैठक कक्ष रहेको छ भने ३ सय अट्न सक्ने सभा हल समेत रहेको छ । अहिले संस्थाको सबै काम यसै भवनबाट हुर्दैं आएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP