वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटगरले इटहरीका ४ किराना पसललाई ३५ हजार जरिवाना गरेको छ । अनुगमनका क्रममा राजस्व छली, अवैध सामग्री विक्रि वितरण, मुल्यसुची नराखेको, खरिद रकम स्पष्ट नदेखिएको भन्दै ४ पसलबाट उक्त जरिवाना लिएको हो ।
किराना पसलबाट ग्राहक ठगिएको उजुरी परेपछि विभागले इटहरीका ४ किराना स्टोरमा मंगलबार अनुगमन गरेको थियो । जरिवाना तिर्ने पसलमा प्रगति चौक नजिकै रहेको मा दुर्गा सप्लायर्सलाई ५ हजार, विराटनगर लाइनमा रहेको भट्टराई स्टोर,नेशनल गल्लीमा रहेको राम किराना पसल र संगीत चौकमा रहेको विडि सप्लायर्सलाई जनहि १० हजारका दरले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
उनीहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको कार्यालयका निमित्त प्रमुख पोखरेलले जानकारी दिए ।
उक्त पसलमा भन्सार छली गरी ल्याएका बिस्कुट,पापड, अबैध रुपमा भारतबाट भित्राएका सामानको व्यापारीले खरिद विल देखाउन नसके पछि उनीहहरुलाई कारबाहि गर्न बाध्य भएको पोखरेलको भनाई छ ।
प्याक गरिएका जङफुड, ओखर, प्याक गरिएको दाल, मकैमा लगायतका स्थानीय स्तरमा उत्पादन भएका खाद्य सामानको उत्पादन मिति, उपभोग गर्ने मिति उल्लेख नभएको भेटिएको थियो । त्यस्ता सामानको लागि अन्य सामग्रीको जस्तै सम्पुर्ण विवरण उल्लेख गर्न समेत विभागले चेतावनी दिएको छ ।
व्यापारीलाई उक्त टोलीले भारतीय सामान साइकलवाला सँग नलिन र खरिद बिल बिनाका सामान बिक्री नगर्न सचेत पार्दै अन्य लेबलिङका लागि सल्लाह सुझाव समेत दिएका थिए ।
कारर्बाहीमा परेका पसलहरूले तोकिएको जरिवाना कृषि विकास बैङ्कमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको खातामा एक हप्ता भित्र बुझाउनु पर्नेछ ।
विभागले ग्राहकको दैनिक गुनासो आउन थालेपछि बजार अनुगमनलाई तिब्रता दिएको छ । यस अघि सुनसरीका दुहबी र धरानका केही खाद्य पसलमा पनि अनुगमन गरेको थियो । उक्त पसलबाट पनि अखााद्य वस्तु, खरिद बिल विनाको आर्थिक लेनदेन लगायत फेला परेपछि जरिवाना गरी त्यस्ता वस्तुलाई नष्ट समेत गरेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP