जीपी फाउन्डेसनद्वारा फुटबल प्रतियोगिता हुँदै, विजेताले दुई लाख, उपविजेताले एक लाख पाउने

दिप खबर
चैत्र १०, २०७७

गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ ले इटहरीमा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

गिरिजा प्रसाद कोइरालाको ११औं स्मृतिको अवसर पारेर विभागले स्वास्थ्य शिविर, फुटबल प्रतियोगिता,फोटो प्रर्दशनी लगायतको कार्यक्रमको आयोजना गर्न लागेको हो ।

मंगलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक जीपी फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजक सूर्य राईले १२ गते बिहीबारदेखि इटहरी रंगशालामा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।

उक्त खेलमा प्रदेश १ का ८ वटा टिमले सहभागिता जनाउनेछन् । राईका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटाले प्रतियोगितामा सहभागी जनाउनेछन् । “विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख हात पार्नेछन्,” राईले भने, “१२ गतेदेखि हुने खेल २१ गते समापन हुनेछ ।”

कार्यक्रमको चाम बढाउन सांगीतिक कार्यक्रम पनि आयोजना गर्न लागिएको उनले बताए ।

सुनसरी फुटबल संघका कोषाध्यक्ष कोबितजंग कार्कीले नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन उक्त प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्कीले फुटबल विकासको लागि जुन क्लबले प्रतियोगिता आयोजना गरेपनि सबै क्षेत्रबाट प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP