आगलागीमा परि ३ वर्षीय बालकको मृत्यु

आगलागीमा परि ३ वर्षीय बालकको मृत्यु


गएराती उदयपुरमा भएको आगलागीमा परि ३ वर्षीय बालकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–१० मा परालको कुन्युमा अचानक सल्केको आगो फैलिएर घरमा आगलागी हुँदा स्थानीय सुजन थापाको छोरा अरबिन्द्र थापाको जलेर मृत्यु भएको हो ।

आगलागीबाट थापाको २ तले कच्ची घरसहित घर भित्र रहेको डेढ लाख रुपैयाँसहित खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन जलेको छ । त्यस्तै बाख्राको गोठसहित २ वटा बाख्राको पाठा समेत जलेर करिब ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यसैगरी छिमेकी प्रकाश थापाको पनि घरभित्र रहेको डेढ लाख नगदसहित खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, सुन÷चाँदीसहितका सरसमान जलेको छ । उनको करिब २८ लाख रुपैयाँ र अर्का छिमेकी मेख बहादुर थापाको २५ लाख रुपैयाँ बराबरको सरसमान जलेको प्रहरीले जनाएको छ ।