उद्योग वाणिज्य संघ इटहरीले साधारणसभाको अवसरमा उद्योग वाणिज्यको संघको नेतृत्वमा पुगेका बाबुछोरालाई सम्मान गरेको छ ।
उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्ष चन्द्र बस्नेत र उनका छोरा केन्द्रिय सदस्य इन्जिनियर देशबन्धु बस्नेतलाई सम्मान गरेको हो । शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मानपत्र प्रदान गरेका थिए ।
इटहरीमा व्यापार व्यवशायको संस्थागत विकासको लागि विश्वप्रसाद रिजालको संयोजकत्वमा व्यापार प्रबन्ध समिति बनेको थियो । पछि ५० सालमा चन्द्र बस्नेतको अध्यक्षतामा उद्योग वाणिज्य संघ इटहरी गठन भएको थियो ।
यता इटहरीमै जन्मेका उनका छोरा देशबन्धु बस्नेत (अजित) उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य छन् । उनी महासंघअन्तर्गत द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमको सभापति तथा जाम्वियाका अवैतनिक महावाणिज्यदूत हुन् । लामो समयदेखि काठमाडौ बस्दै आएका बस्नेतको कम्पनि एबी होल्डिङ्स्ले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
यस्तै कार्यक्रममा लामो समयदेखि पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान गरेको भन्दै पत्रकारहरु दिपक कार्की र सुप्रिया राईलाईसमेत सम्मान गरिएको छ । त्यस्तै इटहरीका अग्रज उद्योगी जितसिंह विष्ट, महिला उद्यमी मेनुका राई, खेलाडी पुजा चौधरी, पुराना फलफूल व्यवसायी राम नारायण साह र संघका पुर्व अध्यक्ष विश्व प्रसाद रिजाललाई पनि सम्मान गरिएको थियो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलको अध्यक्षतामा भएको साधारण सभामा पुर्व मन्त्री रामकुमार सुब्बा, निवर्तमान शाखा अध्यक्ष तथा प्रदेश सांसद लिलम बस्नेत, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न शाखा, प्रदेशका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP