कवि देवान किराँतीले म कवि हैन भन्दै इटहरीमा शनिबार साझँ १० कविता सुनाएका छन् । साहित्यप्रेमी जमातलाई आफ्ना सिर्जनाको खुराक पस्कने मूल ध्येयका साथ २०७२ सालमा स्थापित साहित्यिक संस्था ‘शब्द प्रवाह’ ले पहिलो कार्यक्रममा कवि किराँतीलाई ल्याएको हो ।
किराँतीले गाँठी कुरा, षड्यन्त्र, रोटी, प्रेमको लास, चिसो, निमन्त्रणा, मृत्युको गुलाफ, मन्दिर र चिहान, पुरानो प्रेम एवं सत्य शीर्षकका कविता वाचन गरे । उनका कविताहरुले जीवनको सास्वत सत्य मृत्युप्रतिको मानिसको भय, सांसारिक मोह, भ्रम र यथार्थ, प्रेमजस्ता विविध पक्ष समेटेका थिए । कवि किराँतीको कवितासंग्रह ‘हुरीमा नाचिरहेको इश्वर’ प्रकाशित छ । ‘कि नोट स्पिकरका रुपमा मञ्चमा प्रस्तुत भएका नाट्यकर्मी सोनु जयन्तिले कवि देवान किराँतीको साहित्यिक प्रवृत्ति र जीवनशैलीबारे प्रकाश पारेका थिए । साहित्य पात्रमा आधारित हुने भन्दै जयन्तिले पात्रमा परिवर्तन भए सिर्जनामा विचलन आउनसक्ने तर्क गरे । कवि मनु मञ्जिलको प्रमुख आतिथ्य तथा कवि बद्री भिखारीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संस्थाका अध्यक्ष विराटअनुपम स्वयंले सञ्चालन गरेका थिए ।
प्रमुख अतिथि मञ्जिलले सुन्दर सिर्जना गर्नु कविको कर्तव्य भएको धारणा राखे । आफ्ना सिर्जनामार्फत् पाठकलाई कल्पनाशील बनाउने क्षमता सर्जकमा हुनुपर्ने उनको भनाइ थियो । शब्द अत्यन्तै हल्का चिज भएको भन्दै यसमा वजन थप्ने र यसलाई अमरत्व प्रदान गर्ने दायित्व साहित्यकारको काँधमा रहेको उनले उल्लेख गरे । एक सय ५० जनाभन्दा बढीको सहभागितामा सम्पन्न कार्यक्रममा नागरिक समाज इटहरीका संस्थापक अध्यक्ष प्राध्यापक डा. बद्रीविशाल पोख्रेल, साहित्यकार तथा अध्यापक डा. राम्जी तिम्सिना, साहित्यकार जसराज किराँती, नवराज पराजुली, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली लगायतको उपस्थिति थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP