इटहरीका निजी कलेजहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।
लकडाउनको अवधिको शुल्क मिनाहा गर्नुपर्ने मागसहित निजी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि सञ्चालकहरुलेसमेत अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने भएका हुन् ।
शुक्रबार उच्च माविहरुको छाता संगठन हिसान सुनसरीले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना प्रकाशित नहुन्जेलसम्म इटहरीका सम्पूर्ण कलेजहरु बन्द गर्ने जनाएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुको कारण शिक्षक कर्मचारी र विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको अध्यक्ष मुकुन्द घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले इटहरीका चार ठूला कलेजहरु विश्व आदर्श, सुषमा, कस्तुरी र कोशी कलेजका गेटमा सामान्य क्षती पुर्याएका थिए । घम्साघम्सीका क्रममा विश्वआदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारी आक्रमणमा परेका थिए । हिसानले आक्रमणमा संलग्नलाई कारवाही गर्नसमेत माग गरेको छ । घाइते भएका अधिकारीलाई उपचारका लागि इटहरीको एपेक्स अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न नसक्ने बताएपछि उनलाई हाल विराटछनगरको विराट मेडिकल लगिएको छ ।
साथै हिसानले विद्यार्थी संगठनहरुले जारी गरेको आन्दोलन समर्थित विज्ञप्तीप्रति पनि असन्तुष्टी जनाएको छ । ‘राजनीतिक बलका जिम्मेवार विद्यार्थी संगठनद्वारा जारी पछिल्ला बक्तब्य र प्रेस नोटहरुले पनि यी घटनालाई मलजल गरेको त होइन ?’ विज्ञप्तीमा लेखिएको छ । हिसानले निजी कलेजहरुले कोभिड १९ कै कारण राहत दिन यो वर्ष शुल्कमा वृद्धि नगरेको पनि जिकिर गरेको छ ।
शुक्रबार इटहरी उपमहानगरपालिकाको पहलमा भएको वार्तामा सात दिनभित्र समस्या समाधान गर्ने प्रस्ताव उपमहानगरपालिकाले गरेको थियो । तर विद्यार्थीहरुले प्रस्ताव अस्वीकार गरी क्याम्पसको गेटमा ताला लगाउन पुगेका थिए ।
हिसानले नगर सरकारको पहलमा सुरु भएको वार्ता र संवादको सकारात्मक निचोडका लागि प्रतिबद्धतासमेत जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP