इटहरीका निजी कलेज विरुद्ध तिनै विद्यार्थी सङ्गठन एक ठाउँमा

दिप खबर
चैत्र ५, २०७७

इटहरीका निजी कलेजहरुले विद्यार्थीहरूबाट लकडाउनको शुल्क लिएको विषयमा विभिन्न दलका विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन् । नेकपा एमाले समर्थक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनसरी (अनेरास्ववियु) नेपाली काङ्ग्रेस समर्थक नेपाल विद्यार्थी सङ्घ सुनसरी (नेविसं) र नेकपा माओवादी केन्द्र समर्थक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनसरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सङ्गठनले विद्यार्थी आन्दोलनमा समर्थन गरेका हुन् ।

तिनै सङ्गठनका जिल्ला अध्यक्षहरू क्रमशः रोशन रेग्मी, मन्दिप भट्टराई र बुद्रोष लिम्बु द्वारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनको पुरा शुल्क छुट दिनु पर्ने माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘ मासिक शुल्क असुल्ने बहानामा निजी कलेजले अभिभावकलाई टेलिफोन गरी धम्काउने, विद्यार्थीलाई हप्काउने, मानसिक तनाव दिने जस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछौँ ।’ साथै विद्यार्थीका जायज माग तत्काल पुरा नगरे सडक आन्दोलनमा उत्रने समेत तिनै सङ्गठनले चेतावनी दिएका छन् ।

त्यस्तै राष्ट्रिय युवा सङ्घ इटहरी उपमहानगरले पनि एक विज्ञप्ति जारी गर्दै निजी कलेज र हिसान सुनसरीले तत्काल विद्यार्थीका माग सम्बोधन गर्न आग्रह गरेको छ । यदि विद्यार्थीको समस्यालाई चाँडो समाधान नगरे कडा आन्दोलनमा त्रिने समेत बताएको छ । नगर कमिटी अध्यक्ष कमल दाहालले लकडाउनको समयमा लिएको सम्पूर्ण खर्च फिर्ता गर्नु पर्ने, विद्यार्थीलाई सहज अध्ययन गर्ने वातावरण मिलाउन समेत आग्रह गरिएको जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP