सायद इटहरीमा पहिलो पटक नै हुनु पर्छ निजी कलेज, क्याम्पसका विद्यार्थी आफुँमाथि कलेजले गरेको अन्याय र अत्याचारको विरुद्धमा सडकमा आएको । सामुदायिक विद्यालय, कलेजमा मात्रै हुने विद्यार्थी आन्दोलन विद्यार्थी संघसङ्गठन मौन बस्दा यति बेला इटहरीका अधिकांश कलेजमा पढ्ने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी कहिले क्याम्पस प्रमुखको ढोका ढकढक्याउन पुग्छन् त कहिले इटहरी उपमहानगरको गेटमा चर्को स्वरमा नारा लाउन ।
कोरोना भाइरसका कारण बन्द रहेका शिक्षण संस्थाले भौतिक रूपमै गत मङ्सिर महिनाको २१ गतेबाट कक्षा सञ्चालन गरे । केही विद्यार्थीले अनलाइन कक्षामा सहभागी भए । केहीले आर्थिक अभाव र इन्टरनेटको समस्याले अनलाइन कक्षामा सहभागी हुन पाएनन् । जब क्याम्पसले भौतिक रूपमा कक्षा सञ्चालन गर्यो तब विद्यार्थी कलेज आए । मङ्सिर देखि कक्षा आएका विद्यार्थीलाई यति बेला पढ्दै नपढेको चर्को मासिक शुल्क तिर्न दबाब दिएपछि उनीहरू हिजो, आज सडक र इटहरी उपमहानगरमा चर्को आवाजमा कराइरहेका छन्
इटहरीमा रहेका कस्तुरी, कोशी, बिश्वआर्दश, नमुना, शुष्मा लगायत आधा दर्जन निजी कलेजले कक्षा ११ र १२ का विद्यार्थीलाई लकडाउन भए देखिको सबै मासिक शुल्क तिर्न दबाब दिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । मङ्गलवार उनीहरूले इटहरी उपमहानगरको शिक्षा शाखामा ४ घण्टा भन्दा बढी धर्नामा बसे । सोही धर्नामा बसे मध्ये एक हुन्, इटहरीको कस्तुरी कलेजको कक्षा १२ मा अध्ययन गर्दै आएका निश्चल पौडेल । उनी गत मङ्सिरबाट कलेज आए । तर कलेजले पुरै एक वर्षको शुल्क तिर्न भनेपछि उनी आन्दोलनमा आउन बाध्य भएको बताउँछन् । ‘हामीलाई कलेजले कुनै वास्ता गरेन, ८ महिना पढाएर १२ महिनाको रकम तिर भन्दै छ, हामीले त्यत्रो रकम किन बिनाकाममा तिर्नु ?’ उनी भन्छन्, यदि हाम्रो मागको कुनै सुनुवाइ भएन भने सडक आन्दोलन गछौं ।
त्यस्तै सोही कलेजमा पढ्ने सिया शर्माको पनि माग उस्तै छ । उनी भन्छिन् ‘पढेको पैसा तिर्न कर लाग्छ, नपढेको पैसा तिर्न हामीलाई केको कर ? उनी कुनै पनि हालतमा १ वर्षको रकम तिर्न तयार नरहेको बताउँछिन् । निश्चल र सिया मात्रै हैन उनकै साथी निमा तामाङ शिक्षकले विद्यार्थी माथि पैसाको लागि के के सम्म गर्न सक्छन् भन्ने पुष्टि गर्दै यसो भन्छन्, ‘हामीले सरहरुसगँ वार्ता बसुम भनिम तर सरहरूले तिमिहरुसगँ वार्ता बस्नुको कुनै अर्थ छैन, पाइपले हान्छु, प्राक्टिकलको नम्बर काटिदिन्छु, घरमा बुवा आमालाई फोन गरेर तपाईँको छोराले पढेन भन्दै मासिक यातना दिने गर्नु हुन्छ । हामी यहाँ पढ्न आको कि मानसिक तनाव लिन ?’ उनी आफ्नो कुरा यसरी राख्छन् । कस्तुरी कलेजमा मात्रै यो समस्या हैन । इटहरीको आइतबारेमा रहेको विश्वआर्दश कलेजको पनि उस्तै छ ।
कक्षा १२ मा पढ्दै आएका सबिन दाहाल पनि नपढेको पैसा तिर्न तयार छैनन् । उनी भन्छन् ‘ हामी पढेको पैसा तिर्न तयार छौँ, कोभिड सरहरूलाई मात्रै लागेको हैन हामीलाइ लागेको छ । सामान्य अवस्थामा जति रकम कलेजले लिन्थ्यो अहिले पनि उति नै लिएको छ । कलेजमा हामीले कुरा राख्दा कुनै वास्ता गरेको थिएन तर अहिले उपमहानगरमा आएपछि केही सम्बोधन गर्ने आश्वासन दिएको छ । हामी पढेको बाहेक अन्य पैसा तिर्न सक्दैनौँ ।’
त्यस्तै कोशी कलेजमा पढ्दै आएकी रोइनी गुरुङ महिना पढेर १२ महिनाको शुल्क तिर्न नसक्ने बताउँछिन् । लकडाउनको समयमा ४ सय विद्यार्थी मध्ये १ सयले पनि अनलाइन कक्षामा सहभागी भएका थिएनन् । कलेजले भने पढे पनि नपढे पनि १ वर्षकै शुल्क लिने बताएपछि सो कलेजका ११ र १२ कक्षाका विद्यार्थी समेत आन्दोलनमा छन् । गुरुङ भन्छिन् ‘धेरैले अनलाइन पढ्न पाएनन् जसले पाए, उनीहरूले १० हजार रकम बुझाएर मात्रै जुम आइडीको कोर्ड दिएको थियो ।’ अहिले कक्षा १२ को वार्षिक फारम भर्ने बेला भएको छ । कलेजले वर्षकै शुल्क नतिरी फारम भर्न नदिने बताएपछि अधिकांश विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।
यता दिनहुँ आन्दोलन भइरहेको भए पनि इटहरी उपमहानगरपालिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन । शिक्षा शाखा प्रमुख सूर्य प्रसाद सुवेदी उपमहानगरले निजी विद्यालयहरू सँग छलफल गरेर निर्णय गर्ने बताए । मङ्गलवार निजी कलेज सञ्चालक र विद्यार्थी सँग छुट्टाछुट्टै छलफल गरेको बताउँदै सुवेदीले आगामी ५ गते शिक्षक र विद्यार्थी सगैं बसेर छलफल गर्ने बताए ।
इटहरीमा ठुला साना गरी कक्षा ११ र १२ पढाउने १ दर्जन बढी कलेज सञ्चालनमा छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP