इटहरीमा एक ठगी गिरोहले १ करोड ३४ लाख लिएर भागेपछि ५७ युवाको बिचल्ली

इटहरीमा एक ठगी गिरोहले १ करोड ३४ लाख लिएर भागेपछि ५७ युवाको बिचल्ली


विदेश काम गर्न पठाउँछु भन्दै रकम लिएर एक कन्सल्टेन्सीका सञ्चालक भागेपछि ५७ जना युवाको बिजोक भएको छ । सुनसरीको इटहरी स्थित नेशनल गल्लीमा रहेको रोयल पान्डा एजुकेशनल कन्सल्टेन्सीले विदेशमा काम गर्न पठाइदिने बहानामा प्रति व्यक्ति २ लाख देखि २ लाख ७० हजारका दरले ५७ जनाबाट १ करोड ३४ लाख लिएर फरार भएपछि युवाहरूको बिचल्ली भएको हो ।

विभिन्न बहानामा थाइल्यान्डका लागि ३८ युवालाई गत मार्च ६ तारिखमा उडाउने बताएको थियो । ४ तारिखमा काठमाडौंमा कम्पनीले बोलायो । ५ तारिख सम्म सम्पर्कमै रहेका सञ्चालक दीपक प्रसाद ढुङ्गेल र विशाल आचार्यले एकाएक फोन अफ गरेपछि युवाहरू अचम्ममा परेका थिए । जब ६ तारिखमा ३८ युवा एयरपोर्ट पुग्दा आफूहरू ठगीमा परेको थाहा भएको भोजपुर रामप्रसादराई गाउँपालिकाका मीन बहादुर थापा बताउँछन् ।

उनले आफ्नो समूहका ३८ जना मध्ये ५ जनाले २ लाख ७० हजारका दरले र अन्य ३३ जनाले २ लाख ५० हजारले रकम बुझाएको बताए । रकम दिएको २ हप्तामै उडाउँछु भनेर रकम लिएपछि सञ्चालक नै फरार हुँदा आफुँ लामो समय देखि सञ्चालकलाई खोजी गरिरहेको बताए । धेरै अघि देखि खोजी गर्दा पनि कन्सल्टेन्सीमा ताला लगाएर सञ्चालक भागेपछि आफुँ समस्यामा परेको उनले गुनासो पोखे ।

त्यस्तै थापा जस्तै सोही कन्सल्टेन्सीबाट ठगिएका हुन् इटहरी २ पशुपति चौकमा घर भएका दानबहादुर बस्नेत । १५ दिन भित्रै उडाउने भनेपछि उनले चलाउँदै आएको ट्याम्पो समेत बेचेर २ लाख ५० हजार रकम बुझाए । थाइल्यान्डमा मार्केटिङको काम गर्न हिँडेका उनी जब एयरपोर्टमा पुगेर सञ्चालकलाई फोन गर्न खोजे सञ्चालक दुवैको फोन अफ भएपछि आफ्नो सपना चकनाचुर भएको उनी बताउँछन् ।

थापा र बस्नेत जस्ता युवाहरू ३८ जनाको ९६ लाख रकम लिएर सञ्चालक फरार भएपछि उनीहरूको दिनमा भोक छैन रातमा निन्द्रा छैन । कमाएर घर चलाउने आस मरेको छ, साहुबाट काढेको पैसाको ब्याजले साउँ ब्याज बराबर भएको छ । न पैसा हातमा छ, न बुझाएको रकमले काम नै गरेको छ ।

त्यस्तै गत वर्ष २०७६ साल पौषमै फ्रान्सका लागि उडाउँछु भनेर सोही कन्सल्टेन्सीले १९ जना युवाहरूबाट जनही २ लाख रकम लियो । ६ महिना भित्र उडाउँछु भनेको कन्सल्टेन्सी १ वर्ष बित्दा पनि नउडाउँदा उनीहरू ठगी गिरोहको फेला परेको थाहा पाए । त्यस लगत्तै उनीहरू दिनहुँ कन्सल्टेन्सीमा धाइरहेका छन् ।सञ्चालक नै अफिसमा ताला लगाएर फरार भएपछि आफूहरूको विल्लीबाठ भएको झापा दमक घर भएका रत्नकुमार लिम्बु बताउँछन् । धेरैले कन्सल्टेन्सीको बैंक खातामा रकम जम्मा गरेका छन् । केहीले कन्सल्टेन्सीमै आएर रकम बुझाएका छन् ।

उनीहरूको १९ जनाको समूहबाट ३८ लाख ठगी गरेर सञ्चालक फरार रहेका छन् । उनीहरूले उक्त ठगी गर्ने गिरोहलाई खोजी गरिदिन सम्बन्धित निकायलाई समेत आग्रह गरेका छन् ।