नेकपा एमालेका नेता तथा युवा इन्चार्ज महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमाले पार्टी फुटाउन लाग्दा आफ्नै पार्टी सानो राकें जुलुसमा निस्कने जस्तो झुन्डमा सीमित भएको आरोप लगाएका छन् । उनले एमालेलाई निल्न खोज्दा प्रचण्डको दाँत नै थोते भएको भन्दै बोकाको मुखमा कुभिन्डो जस्तो भएर न निल्नु न ओकल्नु भएको बताए
सुनसरीको इटहरीमा राष्ट्रिय युवा सङ्घ सुनसरीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे बस्नेतले अर्काको पार्टी सिद्ध्याउन लाग्दा आफ्नै पार्टी माओवादी केन्द्र सकिएको बताए । नेपाली जनताले दिएको मतलाई कदर गरेर देशलाई समृद्ध बनाउनुको सट्टा प्रचण्ड, माधव कुमार नेपाल लगायत केही नेताका कारण नेपालको राजनीतिमा केही घटबढ भएको उनको भनाई थियो ।
प्रचण्डको लामो समय सम्म आलोचना गरेका बस्नेतले नेकपा एमालेमा केही खराब मनस्थिति भएका नेता आफै पाखा लागेको बताए । बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रचण्ड पथ हैन केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेमा आएका माओवादीका नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापाको लगायतको आगमनले नेपालमा नेकपा एमालेको पुन उदय सुरु हुने उनले बताए ।
युवाहरूलाई प्रशिक्षण दिदैं उनले भने ‘युवासंघ नेपालका कार्यकर्ताले राजनीतिलाई पेसा बनाउने पाइने छैन । केही सृजनशील हुनुपर्यो, काम गर्ने जोस जाँगर हुनु पर्यो अनि तपाई हामीले देखेको “सुखी नेपाली समृद्ध नेपाल” को नारा पुरा हुन्छ ।’
नेता बस्नेतले राष्ट्रिय युवा सङ्घ रहर लाग्दो भन्दो भन्दा डर लाग्दो सङ्गठनको रूपमा रहेको बताए । राम्रो काम गर्ने, सभ्य समाजको परिकल्पना गर्ने युवाका लागि रहर होला तर भ्रष्टाचार, अराजकतालाई नियन्त्रणमा लिनका लागि डर लाग्दो बनेर युवा सङ्घ अघि बढ्ने नेता बस्नेतको तर्क छ ।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष बच्चन सिंहले नेपाली राजनीतिमा युवा सङ्घले फरक शैलीबाट अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने ‘ युवा सङ्घले सडकमा टायर बालेर चक्का जाम गर्दैन, जुलुस गर्दैनौँ हामी बाँझो खेतबारीमा कसरी धान फलाउन सकिन्छ , कसरी कोदो फलाउन सकिन्छ त्यता जोड दिनेछौँ ।’
त्यस्तै राष्ट्रिय युवा सङ्घ सुनसरी संयोजक अरुण गुरुङले सुनसरी भित्र रहेका युवाहरूको समस्यालाई सरकार समक्ष कसरी पुर्याउने भन्ने विषयमा आफुँ लागि परिरहेको बताए । उनले युवाहरूको ढुकढुकी नै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको नेकपा एमाले रहेको बताउँदै युवाहरूलाई सामाजिक, उत्तरदायी बन्न समेत आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घ सुनसरीका १ सय ६५ पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण समेत गराइएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP