नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी हटाएका छन् ।
बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।
यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।
कुने जिम्मेवारी कनु नेतालाई ?
प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल
विभागहरु
स्कुल विभाग प्रमुख : केपी शर्मा ओली
संगठन विभाग प्रमुख : विष्णु पौडेल
विदेश विभाग प्रमुख ; राजन भट्टराई
सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख : छविलाल विश्वकर्मा
संसदीय विभाग प्रमुख ; सुवास नेम्वाङ
निर्वाचन विभाग प्रमुख ; विष्णु रिमाल
त्यस्तै आज नै अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।
५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।
त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।
साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् । बैठकले ओली समुहबाट जिल्ला कमिटी, प्रदेश कमिटि र केन्द्रिय सदस्यलाई नै एमाले पार्टीको आधिकारीता समेत दिने निर्णय गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP