फाल्गुन २९ गते इटहरीमा फुड एण्ड बेभरेज मेला हुदैं

फाल्गुन २९ गते इटहरीमा फुड एण्ड बेभरेज मेला हुदैं

घुमौँ पूर्वु भन्ने अभियान साथ इटहरी रङ्गशालामा यहीँ फाल्गुन २९ गते एक दिने फुड एण्ड बेभरेज मेला हुने भएको छ । पर्यटन सम्मृद्धिको आधार, पर्यटन प्रवर्द्धनमा हाम्रो प्रयासु भन्ने मूल नाराका साथ १ दिने फुड एण्ड बेभरेज मेला लाग्ने भएको हो । जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरी तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा हुने कार्यक्रममा प्रदेश १ का पर्यटन, संस्कृति तथा वातावरण मन्त्री माननीय जगदीश कुसियतको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।

बुधवार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नेपाली खानाको परिकारलाई विशेष प्रवर्द्धन गर्ने उद्देश्यले बिबिसीबाट मास्टर सेफ प्रोफेसनल युकेका उप विजेता सन्तोष साहको सहभागिताका कार्यक्रम गरिने जानकारी गराएको छ ।
कार्यक्रम संयोजक तथा प्रिमियर होटल स्कूल इटहरीका सिईओ सुनिल भुषालका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहनेछ । उनका अनुसार खादैँ रमाउँदै पर्यटनलाई बुझ्ने नौलो योजनाका साथ उक्त फेस्टिबलको तयारी गरिएको हो ।

‘हामीले एकदिने फुड फेस्टिबल आयोजना गर्दा ४ हजार भन्दा बढी मानिसहरु आउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘उक्त फेस्टिबल आयोजनाका लागि करीब नौ लाख रुपैँया लागत लाग्ने अनुमान गरेका छौँ ।’ भुषालले भने ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीका अनुसार फेस्टिबलमा चर्चित गायक सुगम पोखरेल, नेपाल आइडल सिजन ३ का रनरअप किरण भुजेल, गायिकाद्धय एलिना चौहान, समीक्षा अधिकारी तथा कमेडी च्याम्पियनका सुमन कोइरालाले मनोरञ्जन दिनेछन् ।

एक सय रुपैँया प्रवेश टिकट रहने फेस्टिबलमा इटालियन, चाइनिज, स्विस, मेस्सिकन खानाहरु समेत रहने पुरीले बताए ।