सर्वोच्च अदालतको फैसलाबाट पुनः स्थापित नेकपा एमाले सुनसरीको सदरमुकाम इनरुवामा पनि नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेको बोर्ड राखेको छ । बुधवार माधव नेपाल समूहका नेता तथा कार्यकर्ताले नेकपा एमालेको बोर्ड राखेका थिए । केही घण्टापछि इनरुवा पुगेका एमाले नेता तथा संविधानसभा सदस्य रेवती रमण भण्डारी, पूर्व राज्यमन्त्री भगवती चौधरी, प्रदेश पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत, प्रदेश सांसद लिलम बस्नेत, बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनाललगायतले त्यो बोर्ड हटाएर नयाँ बोर्ड राखे ।
बोर्डमा पुष्पलाल, मनमोहन र मदन भण्डारीको तस्बिर एकातिर र ओलीको तस्बिर अर्कोतिर राखिएको छ। ओलीको फोटोसहितको बोर्ड राख्न पार्टी कार्यालय पुगेका अनेरास्ववियू सुनसरी अध्यक्ष जीवी गजलले सबै पार्टी कार्यालयमा ओलीको फोटो राखिने बताए ।
उनले भने, ‘औपचारिक निर्णय छैन। तर, अबको सुनसरी एमाले कार्यालयमा ओलीको तस्बिर अनिवार्य हुनेछन् ।’
त्यस्तै सर्वोच्च अदालतको फैसला पछि धरानमा पनि नेकपाको पार्टी कार्यालय हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।
एकीकृत भएपछि नेकपाको कार्यालय धरान १ छाताचोकस्थित साबिक एमालेको पार्टी कार्यालयलाई नै प्रयोग गरिएको थियो । तर, आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गर्दै साबिक एमाले र माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग भएको हो ।
माओवादी केन्द्र अलगिए पछि उक्त कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । एमालेको बोर्डको उद्घाटन ओली पक्षीय केन्द्रीय सदस्यद्धय मुरारी सुवेदी र मोतीराज सुनुवारले गरेका थिए । बोर्ड उद्घाटनमा एमालेका नेता, कार्यकर्ताहरू बोर्ड फेर्न उत्साहपूर्वक सहभागिता रहेको थियो । माओवादी केन्द्रले भने साबिककै धरान १४ स्थित पेरिस खोल्सी डाँडामा बोर्ड राखेर कार्यालय सञ्चालन गर्न थालेको छ ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP