भोजपुरमा सुन्तलाको उत्पादनमा कमी, किसान चिन्तित

दिप खबर
फाल्गुन २४, २०७७


सुन्तलामा देखिएको रोग र भारी वर्षातका कारण यो वर्ष भोजपुरमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौँछा, साङ्गपाङ्ग, रानीबास, आम्तेक, प्याउली, मुलपानी, बोखिम, पालुवा, लगायत क्षेत्रमा सुन्तला उत्पादन घटेको हो ।
अत्याधिक वर्षात नै मुख्य कारण बनेपछि आम्दानी शुन्य भएको भोजपुर नगरपालिका बोखिमका कृषक प्रकाश राई बताए । भने, ‘पोहोर २२ हजारमा बेचेको सुन्तला यसपाली २ हजारको पनि भएन, वर्षातले फुल राम्ररी बस्नै पनि दिएन, फल लागेका सुन्तलाका दाना सानो र अमिलो फल्यो’ सोचेअनुसार सुन्तलाले उत्पादन नदिएपछि किसान चिन्तित देखिएका छन् ।
व्यावसायिक रूपमा लागेका सुन्तला कृषकहरु सुन्तला बगानमै देखिएको समस्याले उत्पादनमा कमी आएपछि निराश बनेका हुन् । यो वर्ष सुन्तला बगानमा अत्याधिक बर्षात, ढिलो फल लाग्नु, अमिलो स्वाद र सानो आकारको दाना लाग्नु जस्ता समस्याले यो वर्ष सुन्तलाले राम्रो आम्दानी पनि लिन नसकेको अर्का किसान शरणकुमार प्रधान बताउँछन् । ‘पोहोर मंसिरमा फलेको सुन्तला यो साल चैत लाग्नेबेला मात्रै टिप्ने काम भएको छ’ उनले भने ।
योवर्ष सुन्तलाको उत्पादन क्षेत्रमा बृद्धि गरिएपनि गतसालको तुलनामा उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष कुल ५ सय ४० हेक्टरमा गरिएको खेतीबाट जम्मा ३ हजार ६ सय ७२ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ । गतसाल कुल ५ सय ३० हेक्टरमा गरिएको खेतीले ४ हजार ७ सय १२ मेट्रिक टन सुन्तला उत्पादन दिएको थियो । विशेषगरि योवर्ष भारी बर्षात, कम घाम लाग्नु र नयाँ पालुवा लाग्नेबेलासम्म सुन्तलाका दाना बोटमै रहनुले सुन्तलाजातका फलफूल उत्पादन घटेको केन्द्रका सुचना अधिकारी विश्वास आमगाईले बताए ।
सुन्तलामा देखिएका समस्या समाधानका लागि कृषि निकायले विषादी, नयाँ विरुवा, अनुदान, परामर्श दिनुपर्ने कृषकहरु सुनाउँछन् । गतवर्ष भोजपुरमा ३० करोडबढि मुल्यमा सुन्तलाको कारोबार भएको थियो । उत्पादित सुन्तला धरानको कृषि बजार, ईटहरी, विराटनगर, काठमाडौँ लगायत बाहिरी जिल्लामा निकासी हुने गरेको केन्द्रले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP