ताप्लेजुङको दोभान बजारमा भिषण आगलागि, ४७ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा भिषण आगलागि, ४७ घर जलेर नष्ट


ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहानदेखि भएको आगलागीमा ४७ घर जलेका छन्। त्यहाँ बस्ने ७९ परिवार विस्थापित भएका मेरिङ्देन गाउँपालिकामा अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिएका छन् ।

फुङलिङ नगरपालिकाको दमकल र एक्साभेटरको प्रयोग गरेर आगो थप फैलनबाट भने रोकिएको उनले बताए। ‘४७ घर जलेको र त्यहाँ पसल व्यावसाय गरेर बस्ने ७९ परिवार विस्थापित भएको प्रारम्भिक अनुमान गरेका छौं’, अध्यक्ष लिम्बुले भने ‘एक्साभेटरले केही घर भत्काएपछि बाँकी बजार जोगाउन सफल भयौं।’ आगो पूर्ण नियन्त्रणमा भने आइसकेको छैन। क्षति भएको घर र परिवार संख्या थपघट हुन सक्ने उनको भनाइ छ।

अध्यक्ष लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले पीडितहरुलाई तत्काल कसरी व्यवस्थापन गर्ने भन्ने विषयामा छलफल गरिरहेको छ। ‘पीडितले बिहानदेखि खाना खाएका छैनन्, उनीहरुलाई खानाको र बासको लागि निर्णय गर्छौं अध्यक्ष लिम्बूले बताए ।

बिहान ९ः१५ बजेतिर आगलागी सुरु भएको हो।एक्कासी आगो फैलिएकाले मालसामान, कागजात केही निकाल्न समेत नपाएको पीडितको भनाइ छ। पीडितले भागेर ज्यान जोगाएका छन् ।

आगो निभाउन नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय खटिएको ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताए । दोभान जिल्लाको साविक क्षेत्र नं २ का सबै गाउँ जोड्ने व्यापारिक केन्द्र हो। तमोर र मैवा नदीको किनारमा रहेको छ। वर्षेनी दुईतिरबाट नदीको कटानको मारमा पर्दै आएका दोभानका स्थाानीय आगलागीको चपेटामा समेत परेका छन्।