वडा अध्यक्षले वडा कार्यालय बन्ने स्थानका नाममा मनोमानी गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । इटहरीको वडा नम्बर ४ मा नयाँ भवनका लागि जग्गा छनौटमा वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईले स्थानीयवासीको भावना विपरीत मनोमानी तरीकाले भवन निमार्ण स्थानमा शिलान्यास गरेको भन्दै एक समितिले इटहरीका मेयर र उपमेयरलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
भवन बनाउनको लागी ४ नम्बर वडा कार्यालय भवन निर्माण तथा अध्ययन समिति बनेको थियो । गत असोज १० गते विभिन्न राजनैतिक दल तथा नागरिकहरूको अगुवाइमा समिति बन्यो । नेकपाका स्थानीय नेता जनक कार्कीको संयोजकत्वमा बनेको समितिले चौधरी टोलमा रहेको पोखरीलाई संरक्षण हुने गरी अत्याधुनिक प्रविधिबाट भवन निर्माण गर्ने सुझाव दिएको थियो । उक्त जग्गामा कुनै कानुनी जटिलता देखिए मात्र अरू स्थानमा जग्गा खोजी गर्नुपर्ने समितिको सुझाव थियो ।
तर वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले पोखरी मास्न नहुने भन्दै जनता माविकै जग्गामा वडा भवन बनाइने अडान लिए । सोही बमोजिम भवन शिलान्यास भएको हो ।
यता समितिले भने वडाध्यक्ष भट्टराईले स्वेच्छाचारी ढङ्गले काम गरेको समितिको आरोप लगाएको छ । तत्कालीन नेकपा एमालेको घोषणापत्रमा पनि पोखरीमै वडा कार्यालय बनाउने उल्लेख भएको हुँदा त्यही बनाइनुपर्ने समितिको दाबी छ ।
समितिको तर्फबाट कार्की सहित नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार कमल राई लगायत सूर्य बराल, दीपक गौतम, बालकृष्ण कार्की, सूर्य राई, रुद्र आचार्य, विश्वेश्वर पोखरेल, सुनिल कार्की, डम्बर बराइली, सोनालाल चौधरी, नवीन चौधरी र रोशन चौधरीले हस्ताक्षर गरेर आपत्ति जनाउँदै इटहरीका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् । पत्रमा जनता माध्यमिक विद्यालयको जग्गामा बन्ने भवन वडा नम्बर २ को सिमाना पर्ने, भविष्यमा विद्यालयले कलेज स्थापना गर्नुपर्ने भएमा वडा कार्यालय समस्या पर्ने, अहिले बन्ने स्थान विद्यालय क्षेत्र,, ओभर हेड ट्याङ्की, आर्मी ब्यारेक, खानेपानी कार्यालय तथा संस्कृतिका विभिन्न भवन भएकाले उक्त स्थान वडा कार्यालयका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।
उता वडाध्यक्ष भट्टराई भने सबैलाई पायक पर्ने खुल्ला स्थान खोज्ने क्रममा जनता माविकै जग्गा उपयुक्त भेटिएको तर्क गरेका छन् । पोखरी मास्न पनि नपर्ने र उपर्युक्त पनि हुने भएकोले सही निर्णय गरिएको उनको दाबी छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP